एमालेमा छलछाम, १३ नेताको संगठित सदस्यता गायब
नेकपा एमालेले मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशनका लागि मंसिर १३ मा देशभर एकैदिन प्रतिनिधि छनोट प्रक्रिया अघि बढाउँदैछ। करिब २१ सय प्रतिनिधि छानिने यो प्रक्रियामा धेरै ठाउँमा प्रतिस्पर्धा देखिँदैछ।
सोही क्रममा कैलालीमा भने प्रतिनिधि छनोटअघि नै संगठित सदस्यता हटाइएको आरोपसँगै विवाद बढेको छ। एक पक्षले आफू समर्थकलाई महाधिवेशन प्रतिनिधिमा पठाउन अर्को पक्षका नेता–कार्यकर्ताको नवीकरण भइसकेको सदस्यता नै गायब बनाएको आरोपसँगै विवाद चर्केको छ ।
कैलालीमा प्रतिनिधिका आकांक्षी १३ जनाको नाम संगठन विभागले प्रमाणित गरिसकेको सूचीबाटै हटाइएको भेटिएपछि विवाद छताछुल्ल भएको हो । हटाइएकामध्ये केही नेता यसअघि प्रदेश सभा सदस्यका उम्मेदवार भइसकेका र केही जिल्ला कमिटी सचिवालय तहमा जिम्मेवारी सम्हालेका छन्।
संगठित सदस्यको सूचीबाट जिल्लाका वरिष्ठ नेताहरूको नामै अचानक गायब भएपछि ञ्चार्ज नारदमुनि रानाले छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्। आइतबार बसेको जिल्ला कमिटी बैठकले टेक बुढाको नेतृत्वमा पालिका तथा वडा कमिटी अध्यक्षसहितको समिति बनाएको छ। रानाका अनुसार धेरैले नाम छुटाएको गुनासो गरेका कारण अब छानबिनपछि वास्तविकता बाहिर आउनेछ।
गायब भएका नाममा अखिलका पूर्वजिल्ला तथा एमाले जिल्ला सदस्य कुमार बडैला, सचिवालय सदस्य दीपक रावल, राष्ट्रिय युवा संघका सह–संयोजक प्रकाश खड्का र उदयराज जोशी प्रमुख हुन् । उनीहरूमध्ये केही ४० वर्षमुनिको कोटामा महाधिवेशन प्रतिनिधिमा जाने सम्भावना देखिन्थ्यो। रावलले आफू १७ वर्षदेखि संगठित सदस्य रहेको र प्रतिनिधि बन्ने सम्भावना देखिएपछि नियतवशः आफ्नो नाम हटाइएको आरोप लगाएका छन्।
कैलाली एमालेले २०७९ को प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका जयनारायण जोशीको सदस्यता पनि हटाएको आरोप छ। पूर्वप्रदेश कमिटी सदस्य सावित्रीदेवी सापकोटा, जिल्ला कमिटी सदस्य सुरतबहादुर विष्ट र पूर्वजिल्ला सदस्य गजेन्द्र स्वाँरसहित कम्तीमा १३ जनाको नाम यसअघि सदर सूचीबाट बेपत्ता बनाएर पठाइएको बताइएको छ।
यी सबैले समयमै सदस्यता नवीकरण गरिसकेका थिए। गाउँ कमिटीले नवीकरण रसिदसमेत दिएको प्रमाण उनीहरूसँग छ। तर जिल्ला कमिटीले केन्द्रमा पठाउँदा उनीहरूको सदस्यता नै हटाइएको भेटिएको छ।
यही घटनापछि टीकापुर नगर कमिटीले केन्द्रीय संगठन विभागलाई पत्र पठाएर दीपक रावल, प्रकाश खड्का र उदयराज जोशीको नाम समेटिदिन माग गरेको छ। कुमार बडैलाले पनि प्रमाणसहित जिल्ला कमिटी र संगठन विभागमा छुटाइएको भन्दै निवेदन दिएका छन्।
निवेदन संगठन विभागमा पुगेपछि अब केन्द्रले नै यसमा चासो दिएको छ। संगठन विभागको निर्देशनपछि प्रदेश कमिटीमार्फत् कैलाली जिल्लालाई छुटेका नाम थपेर पुनः पठाउन सिफारिस भएको प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताएका छन्। कैलालीमा बढ्दो तनावसँगै प्रतिनिधि छनोटअघि एमालेभित्र दुई समूहबीचको प्रतिस्पर्धा झनै खुलेर बाहिर देखिएको छ ।

टिप्पणीहरू