सुरक्षाकर्मी सधैँ दाहिने हुँदैनन्

सुरक्षाकर्मी सधैँ दाहिने हुँदैनन्

युवा कार्यकर्तालाई गुण्डुमा पालो लगाएर तथा प्राइभेट सेक्युरिटी कम्पनीका गार्डको सुरक्षा लिँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि के साँच्चै सुरक्षा चुनौती छ ? कि उनी डराएको मानसिकतामा छन् ? यो प्रश्नको उत्तर खोज्दा अर्को प्रश्न जन्मिन्छ– भाडाका मान्छेलाई सुरक्षामा खटाउँदा उल्टै आक्रमण भए के होला र ? 

सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका ओलीसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका पूर्वपदाधिकारीहरूको सुरक्षाकर्मी कटौती गरेको छ । त्यसपछि रन्थनिएका ओलीले प्राइभेट सेक्युरिटी एजेन्सी बोस कम्पनीका गार्डसँगै एमालेको भ्रातृ संगठन युवा संघ र भूतपूर्व सैनिक–प्रहरी संघका कार्यकर्ताबाट सुरक्षा लिँदै आएका छन् । 

महेश बस्नेत, पासाङ शेर्पाहरूको नेतृत्वमा जिल्ला जिल्लाबाट युवा कार्यकर्तालाई गुण्डु उतारेर गस्ती गराउने गरिएको छ । खासमा सरकारले मापदण्ड विपरीतका सुरक्षाकर्मीमात्र फिर्ता गरेको हो । अहिले पनि उनकोमा सशस्त्रका १६ जना खटिएका छन् । साँच्चै चुनौती भए थप सुरक्षाकर्मी लिने विकल्प खुला नै छ । गुण्डु क्षेत्र हेर्ने स्थानीय सुरक्षा संयन्त्रसँग समन्वय गर्न पनि सक्नेछन् । 

तर, यसो नगरी सुरक्षाको नाममा बाहिरका मान्छे जम्मा पार्नुको अर्थ के होला ? यो घटनालाई गम्भीरतापूर्वक हेरिरहेका एक सुरक्षा अधिकारी भन्छन्, ’सरकारको निर्णयलाई प्रतिकारसँगै आफ्ना कार्यकर्ताको मनोबल उठाउने रणनीतिक चालबाजी हुनसक्छ ।’ त्यसो भए के ओलीमाथि सुरक्षा थ्रेट छँदै छैन त रु उनी भन्छन्, ’तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भदौ २३ को खुनखराबाको राजनीतिक जिम्मेवारी उहाँले लिनुपर्छ भन्ने आवाज आइरहेको छ, त्यसकारण सुरक्षा थ्रेट छैन भन्न मिल्दैन ।’ 

हुन पनि भदौ २४ गते ज्यान जोगाउन बालुवाटारबाट हेलिकप्टरमा भागेका र हप्तौँसम्म बाहिर निस्कन नसकेका ओलीले अहिले चुनौतिको भाषा बोले पनि उनको मनमा डर पस्नु स्वभाविकै हो । तर, भाडाका सुरक्षा गार्ड र कार्यकर्ता खटाएर सुरक्षित हुने उपाय सोच्नु भने प्रत्युत्पादक हुनसक्ने खतरा सुरक्षाविद्हरू औल्याउँछन् । 

अहिले सुरक्षामा खटाइएकाहरूबाटै चुनौती आइलाग्न सक्ने खतरालाई नजरअन्दाज गर्न नहुने बताउँदै तिनै अधिकारी भन्छन्, ’अहिले सबै राजनीतिक दल र नेताप्रति जनतामा ठूलो आक्रोश छ । पार्टीका कार्यकर्ता पनि एक हिसाबले जनता नै हुन् । उनीहरूमा पनि आक्रोश हुने नै भयो । त्यो आक्रोश कतिबेला प्रस्फुटन हुन्छ भन्न सकिन्न ।’ 

ओली र महेश बस्नेतले बेलैमा आफ्नो बोलीमा लगाम नलगाए चुनावका बेला यस्तो खतरा झन् बढ्नसक्ने विश्लेषण गर्नेहरू पनि छन् । विश्वका थुप्रै देशमा आन्दोलनपछि पूर्वशासकहरू संयमित हुन नसक्दा दुःखद घटना घटेको उदाहरण छ । छिमेकी भारतमा इन्दिरा गान्धीलाई उनकै अंगरक्षकले हत्या गरेका थिए । पञ्जाबको अमृतसरको गोल्डेन टेम्पलमा भएको नरसंहार दबाएको आक्रोशमा दुई जना शिख अंगरक्षकले गोली प्रहार गरेका थिए ।

टिप्पणीहरू