माओवादी 'आधार क्षेत्र' मा एमालेको लफडा

माओवादी 'आधार क्षेत्र' मा एमालेको लफडा

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद चर्किन थालेको छ । 

माओवादीको आधार इलाका मानिने रोल्पामा प्रतिनिधि छनोटलाई लिएर नेताहरू कित्ताकाटमा उत्रिएका छन् । पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज गोकुल घर्ती र जिल्ला अध्यक्ष अमृत बुढाले एकलौटी गर्न लागेपछि अरू नेता असन्तुष्ट बनेको बताइन्छ । 

घर्ती र बुढाले आफ्ना नातेदारलाई समेत महाधिवेशन प्रतिनिधि बनाउन खोज्दा असन्तुष्टि बढेको एक जिल्ला नेताले बताए । माओवादी जनयुद्धको कठिन समयमा पार्टी जोगाएर बसेका नेता-कार्यकर्ताको ठूलोपंक्ति यसबाट निरास भएको उनको भनाइ छ । 

त्यतिबेला पार्टीको साख जोगाएका शान्तकुमार वली, घनश्याम आचार्य, प्रेम घर्ती, खिमचन्द्र पुन, रिमा नेपाली, बालाराम बुढा, हरिप्रसाद वली, ओमराज घर्ती, नेपबहादुर वली, ठाकुरप्रसाद वली, नेपबहादुर थापा, कृष्णीकुमारी गौतम, तारा सेन, लिला आचार्य र पूर्ण बुढालगायतलाई पाखा लगाउँदै इञ्चार्ज घर्ती र अध्यक्ष बुढामाथि आफू निकटलाई महाधिवेशन प्रतिनिधि बनाउन लागेको आरोप छ । 

एमाले रोल्पाका एक सचिवालय सदस्य भन्छन्, ‘गोकुल कमरेडलाई रोल्पा भनेकै नुवागाउँ र गैरीगाउँमात्रै लागिरहेको छ, भोट त अन्य पालिकाबाट पनि चाहिने होला नि ! त्यसैमाथि उहाँले राम्रो छवि भएका नेताहरुलाई रोक्दै हुनुहुन्छ ।’

घर्ती र बुढाले केन्द्रीय सर्कुलरसमेत लुकाएर आफू निकटका कार्यकर्तालाई मात्र जानकारी दिने गरेको पनि बताइन्छ । ‘पार्टीले जे-जेजस्ता सर्कुलर पठाउँछ, त्यो बारे धेरै नेतालाई त थाहै हुँदैन, दुई जनाले नजिकका नेतालाई मात्र जानकारी दिनुहुँदो रहेछ’, ती सचिवालय सदस्यले थपे ।

टिप्पणीहरू