बुटवलमा एमसीसीको नयाँ प्रोजेक्ट, बिजुली भारत निर्यातमा सहयाेगी हुने दाबी

बुटवलमा एमसीसीको नयाँ प्रोजेक्ट, बिजुली भारत निर्यातमा सहयाेगी हुने दाबी

अमेरिकी सहयोग परियोजना एमसीसीको आर्थिक सहयोगमा बुटवल नजिकैको सुनवलमा १८ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ गरिएको छ । एमसिए–नेपालले सुनवलमा आयोजित एक समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले न्यू बुटवल सबस्टेसनको १८ किमि प्रसारण लाइन निर्माणको औपचारिक शुभारम्भ गरेका हुन् ।  

एमसिए–नेपालको कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको यो पूर्वाधारले नेपालको विद्युतीय सञ्जाल सशक्त बनाउने र नेपाल–भारतबीच ऊर्जा व्यापारको नयाँ मार्ग खोल्ने एमसिए नेपालले जनाएको छ । कार्यक्रममा अर्थमन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँच विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा वृद्धि र दीर्घकालीन आर्थिक विकासका लागि नेपाल सरकार प्रतिबद्ध रहेको जनाउँदै एमसीसी र एमसिए–नेपालको सहयोगमा यसअघि भएका सम्झौतालाई कार्यान्वयन गर्ने प्रतिबद्धता उल्लेख गरे ।

त्यसैगरी अमेरिकी राजदूत थम्प्सनले भने, ‘नेपालसँग ऊर्जा प्रणाली सुदृढ गर्न एक प्रतिबद्ध साझेदारका रूपमा उभिन पाउँदा संयुक्त राज्य अमेरिकालाई गर्व लागेको छ। प्रसारण लाइन र सबस्टेशनले घरपरिवार र व्यवसायको बिजुली आपूर्ति मात्र होइन, यस क्षेत्रका व्यापार र प्रगतिका अवसर पनि सिर्जना गर्नेछ।’

उक्त १८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासम्म जोड्ने बताइएको छ । करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गर्न लागिएको उक्त पूर्वाधारले आगामी दशकमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य पूरा गर्न नेपाललाई सहयोग गर्ने एमसिए नेपालको दाबी छ । यसबाट नेपाल–भारत ऊर्जा साझेदारीलाई मजबुत बनाउँदै देशको आर्थिक र ऊर्जा सुरक्षामा नयाँ ढोका खोल्ने जनाइएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) २०७५ वैशाखदेखि क्रियाशील छ । यसले मुलुकको विद्युत् प्रसारण सञ्जालविस्तार गर्न, यातायात लागत घटाउन र निजी क्षेत्रको विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्न नेपाल सरकारको १९.७० करोड र अमेरिकी सरकारको एमसीसीबाट प्राप्त ५५ करोडको अनुदान गरि कुल ७४.७ करोड अमेरिकी डलर खर्च गर्ने लक्ष्य राखेको छ ।

टिप्पणीहरू