थुक्ने ठाउँमा राखिएका भगवानक फोटाहरु हटाइँदै
थुक्नबाट रोक्नका लागि सार्वजनिक भवनहरुको कुनाकाप्चामा टाँसिएका भगवानको फोटोहरु युवाहरुले हटाउन थालेका छन् । भगवानको अपमान गरिएको भन्दै विराटनगरका युवाहरुले भित्तामा टाँसिएका फोटोहरु धमाधम निकाल्न थालेका हुन् । सेवाग्राहीहरुले पान, खैनी, गुट्खा खाएर भित्तामा थुकेर फोहोर पार्ने गरेका थिए ।
त्यसलाई नियन्त्रण गर्नका लागि सरकारी कार्यालय, अस्पताललगायत सार्वजनिक भवनको भित्तामा भगवानको फोटो टाँसिएको थियो । तैपनि, थुक्ने कार्य भने नरोकिएको हो । फोहोर नियन्त्रण गर्ने बहानामा भगवानको फोटोको अपमान गरिएको विराटनगरका युवा सन्दिप साहले बताए ।
उनका अनुसार विराटनगरको रानीस्थित आँखा अस्पतालसहित विभिन्न ठाउँबाट फोटो हटाइसकिएको छ । उनले भने,‘हामीले पुज्ने भगवानलाई फोहोर गर्ने ठाउँमा राखेर अपमान गर्नुहुँदैन । बरु, सिसीटिभी राखेर फोहोर गर्नेलाई तुरुन्त दण्ड जरिवाना गर्नुपर्छ, सचेतना वृद्धि गर्नुपर्छ ।’
टिप्पणीहरू