प्रधानमन्त्रीलाई कुलपति नबनाउन मन्त्रीले न्वारनदेखिकाे बल निकाल्ने
प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउन सरकारले पहल थालेकाे छ । एउटा व्यक्तिमाथि धेरै जिम्मेवारी थुपारिँदा विश्वविद्यालय सुधारमा बाधा सिर्जना भएको निष्कर्षसहित सरकारले उक्त व्यवस्था हटाएर विज्ञताको आधारमा कुलपति चयन गर्ने प्रक्रिया अध्ययन अघि बढाउन लागेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर नयाँ प्रक्रिया अलवम्बन गर्न कानुनी परामर्श र अध्ययन थाल्ने निर्णय भएको जानकारी दिए । आज त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकपछि उनले सो व्यवस्था हटाउने मोटामोटी सहमति भएको पनि बताए ।
मन्त्री पुनका अनुसार अध्यादेश जारी गरेर भए पनि प्रधानमन्त्री कुलपति रहने अहिलेको व्यवस्था हटाइने गरी सकारात्मक छलफल भैरहेको छ ।
‘विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउँदैछौँ, अध्यादेशबाट हुन्छ कि कसरी हुन्छ, सरसल्लाह हुँदैछ, तर जसरी पनि हुन्छ’, उनले भने, ‘हाम्रै पालामा यो हटाउने भनेर न्वारनदेखिको बल लगाउँदैछौँ, अब न्यारनदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन ।’
यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीसमेत सकारात्मक रहेको पनि मन्त्रीले जानकारी दिए । उनका अनुसार आजको सिनेट बैठकमा प्रधानमन्त्री कार्की स्वयंले ‘एक जनाले सारा डोकोभरी भारी बोक्न सक्दैन’ भन्दै विकल्प खोज्न भनेकी थिइन् ।
टिप्पणीहरू