नेपाल यु-१९ प्रिमियर कपको सेमिफाइनलमा

नेपाल यु-१९ प्रिमियर कपको सेमिफाइनलमा

नेपाल एसीसी पुरुष यु-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । बिहीबार दिउँसो भएको समूहचरणको अन्तिम खेलमा हङकङ, चीनलाई १ सय १९ रनले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

जितको लागि २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको हङकङ, चीनले ४०.५ ओभरमा अलआउट हुँदा १ सय ५१ रनमात्र बनाउन सक्यो । हङकङ, चीनको लागि कप्तान शिव मंगुकियाले ३०, जुड लिले २२, अब्दुल समद खानले १९, रेयांश शर्माले १८, आरेज डरले १५ र अफ्ताब हुसेनले १० रन बनाए ।

हङकङ, चीनलाई सस्तैमा समेट्न अप्रजित पौडेलले १० ओभरमा ३१ रन दिएर चार विकेट लिँदा अशोक धामीले तीन तथा दयान्द मण्डल, शुशील बहादुर रावल र रोशन विश्वकर्माले समान एक/एक विकेट लिए ।

यसअघि अज्मानस्थित सेभेन डिस्ट्रिक्स मैदान २ मा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनाएको थियो । नेपालको लागि कप्तान अशोक धामीले अर्धसतक बनाए । उनले ४१ बलमा ४ चौका र तीन छक्का प्रहार गरे । यस्तै दर्श सोनारले नटआउट ४५, दिलसाद अलीले ३२, सिब्रिन श्रेष्ठले २५, भान्श क्षेत्रीले २४, निरज कुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रनको योगदान गरे ।

हङकङ, चीनको लागि ड्यानियल माप र अभिमन्यु गानेसानले समान दुई/दुई विकेट लिँदा प्रित मान्गुकिया र अफ्तान हुसेनले एक/एक विकेट लिए ।

जितसँगै नेपाल दुई खेलबाट चार अंक जोड्दै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समान खेलबाट दुई अंक जोडेको हङकङ, चीन दोस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले शनिबार हुने सेमिफाइनल खेलमा मलेसियाको सामना गर्नेछ ।

टिप्पणीहरू