कांग्रेस बैठकमा संस्थापन पक्ष  लचिलो हुँदै

कांग्रेस बैठकमा संस्थापन पक्ष  लचिलो हुँदै

नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूले सभापति शेरबहादुर देउवासँग भएको छलफलमा महाधिवेशनको विषयमा आगामी पुस मसान्तसम्म कार्यतालिका तयार गर्न सकिने बताएका छन् । महाराजगञ्जस्थित देउवा निवासमा आज दिउँसो महाधिवेशन विवाद समाधान गर्न छलफलका लागि उनीहरु त्यहाँ पुगेका हुन् । कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहस उत्कर्षमा भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यसअघि कांग्रेस संस्थापन पक्षले फागुन २१ गतेको चुनावअघि कुनै पनि महाधिवेशन नहुने अडान राख्दै आएको थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले माग गरेझैँ विशेष महाधिवेशन सम्भव नरहेको बताउँदै आएका थिए। यता नेता डा. शेखर कोइराला भने चुनावअघि नियमित महाधिवेशनकै पक्षमा छन्।

चुनावको मुखमा महाधिवेशन गर्दा प्रतिस्पर्धाका कारण पार्टीलाई क्षति पुग्ने बताउँदै आएका देउवापक्षीय नेताहरू आगामी पुस मसान्तसम्म कार्यतालिका ल्याउन सकिनेमा करिब एकमत छन्। महाधिवेशन विवाद समाधानका लागि सभापति देउवाको आह्वानमा बैठक बसेको थियो। छलफलपछि महाधिवेशनको विषयमा मध्यमार्गी लाइनमा कार्यतालिका बनाउने जिम्मा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ।

संस्थापन पक्षको बैठकमा पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, वर्तमान पदाधिकारीहरू प्रवक्ता डा. प्रकाशशरण महत, प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत नेताहरू थिए । 

बैठकमा सहभागी एक नेताका अनुसार कतिपय वरिष्ठ नेताले निर्वाचनअघि महाधिवेशन गरिए पार्टीमा क्षति पुग्ने भन्दै सभापति देउवालाई सुझाव दिएका थिए। उनीहरूले प्रतिनिधिसभा निर्वाचनअघि नियमित महाधिवेशन नगरी, चुनावपछि मात्र गर्ने राय दिएका थिए। पार्टी प्रवक्ता डा. महतले पनि यही राय राखेका थिए।
सभापति देउवाले महाधिवेशन विवादबारे आफू जानकार रहेको बताएर समस्या समाधानका लागि सहमति खोज्न सुझाव दिएका थिए। यद्यपि संस्थापन पक्ष र देउवाबीच कुनै ठोस रणनीति तय भने भएको थिएन। असोज २८ देखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ गते, सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते महाधिवेशनको कार्यतालिका पेस गरेका थिए। त्यसपछि विवाद उत्कर्षमा पुगेको थियो।

लामो छलफलपछि सभापति देउवाले मध्यमार्गी उपाय सुझाएकाले विवाद समाधान हुनसक्ने अनुमान गरिएको छ। महाराजगञ्ज छलफलपछि अब संस्थापन र इतर दुवै पक्षसँग थप छलफल गरी मध्यमार्गी तालिका ल्याउने जिम्मेवारी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ। कार्यसमिति बैठक भोलि दिउँसो २ बजे बस्दै छ ।

टिप्पणीहरू