मोरङ एमाले : ४६ प्रतिनिधि, ९२ उम्मेदवार, ८ सर्वसम्मत
नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि मोरङबाट ४६ प्रतिनिधि चयनका लागि जिल्लाभर मतदान हुँदैछ । कुल एक सय ४८ जनाको मनोनयन परेकोमा ४८ जनाले उम्मेदवारी फिर्ता लिएपछि चुनावी प्रतिस्पर्धा ९२ उम्मेदवारमा सीमित बनेको छ।
एमाले मोरङमा ६ प्रतिनिधिसभा क्षेत्र र एक दलित क्लस्टर गरी ७ निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गरिँदै छ । मंसिर २७ देखि २९ गते काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि छनौट गरिँदैछ ।
मोरङ–५ मा सहमति: ८ जना निर्विरोध प्रतिनिधि
मोरङ क्षेत्र नम्बर ५ मा हिजो ८ जना सर्वसम्मत रूपमा चयन भएका छन्। जसअनुसार खुलातर्फ ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल र दिलिप बगडिया; महिलातर्फ उषा झा र शान्ता डंगोल; तथा युवातर्फ मोहम्मद हमिद आजाद निर्विरोध प्रतिनिधि बनेका हुन् ।
सर्वसम्मत छानिएका प्रतिनिधिहरूमा संस्थापन र इतर दुबै समूहको रहेको बताइन्छ। रंगेलीका मेयर दिलिप बगडियालाई दुबै पक्षले दाबी गरे पनि उनी अन्ततः ओली समूहमै रहेको स्थानीय नेताहरूको दाबी छ ।
यता मोरङ–५ मा १४ जनाले मनोनयन गरेका थिए अन्य क्षेत्रमा सर्वसम्मति नभएपछि प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर १, २, ३, ६ तथा दलित क्लस्टरमा भने निर्धारित संख्याभन्दा बढी उम्मेदवार रहेकाले मतदानमार्फत् प्रतिनिधि छानिने एमाले निर्वाचन समितिले जनाएको छ।
४८ जनाको उम्मेदवारी फिर्ता
मोरङका ७ निर्वाचन क्षेत्रमध्ये विभिन्न पदका लागि मनोनयन दर्ता गराएका ४८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिनेहरूमा संविधानसभा सदस्यदेखि नगरप्रमुखसम्म छन्।
क्षेत्र नम्बर १ बाट पर्मानन्दसहित सुरेन्द्रकुमार शर्मा, योगराज लिम्बू, डिल्लीप्रसाद खतिवडा, हिरा श्रेष्ठ र भीमबहादुर कार्कीले नाम फिर्ता लिएका हुन् । क्षेत्र नम्बर २ बाट विष्णु पोखरेल, नुरसदी बेगम, मीराकुमारी दास, भूमिका दुलाल, सरोजकुमारी झा, बमलाल खवास तथा क्षेत्र नम्बर ३ बाट बेलबारीका मेयर दिलप्रसाद राई, सुन्दरहरैचाका मेयर केदारप्रसाद गुरागाईँ, पथरीशनिश्चरेका पूर्व मेयर दिलिपकुमार राई गरी दुई दर्जनभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका छन्।
यस्तै सन्तोष बान्तवा, सुरेन्द्रबहादुर थापा, भोजराज श्रेष्ठ, रविन थापा, बाबुराम येन्देन, अम्बरबहादुर गुरुङ, चन्द्र नेउपाने, प्रकाश राई, महिलातर्फ अञ्जु सिग्देल, युवातर्फ नवीन पौडेल, विजय डाँगी र इ. प्रदीप नेपालले पनि फिर्ता लिएका छन्।
क्षेत्र नम्बर ४, ५ र ६ बाट उम्मेदवारी फिर्ता लिनेहरूको संख्या थपिँदै गएको निर्वाचन समितिले जनाएको छ। क्षेत्र नम्बर ६ मा रोहित कोइराला–विनोद ढकाल प्रतिस्पर्धी छन् । संस्थापन पक्षका रोहित र भण्डारी पक्षका विनोदबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
पहिले नेविसंघमा रहेका कोइराला पर्शुराम बस्नेत समूहमार्फत एमाले प्रवेश गरेका थिए। पत्रकार खिलानाथ ढकालमाथिको कुटपिट प्रकरणका कारण उनी चर्चामा आएका थिए । उक्त मुद्दामा झन्डै दुई वर्ष काराबास बसेका थिए।
भण्डारी समूहका ढकाल भने एमाले मोरङका पूर्व अध्यक्ष तथा हाल केन्द्रीय समिति सल्लाहकार हुन्। लामो समय अध्यक्ष ओलीसँग निकट रहे पनि चितवन महाधिवेशनपछि उनको नेतृत्वसँगको दूरी बढ्दै गएको हो ।
टिप्पणीहरू