जेनजीलाई कोटा छुट्याउन माग गर्दै माइतीघरमा धर्ना
जेनजी आन्दोलनका घाइतेलाई सरकारी सहुलियत कोटा छुट्याउनुपर्ने, पीडितलाई न्याय तथा पुनर्स्थापना गर्नुपर्नेलगायत ६ बुँदे माग लिएर जेनजी युवाहरूको एक समूह आन्दोलित भएको छ।
सरकारले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्न नसकेको भन्दै भदौ २३ र २४ को घटनाका घाइतेहरू खबरदारी गर्न सडकमा ओर्लिएका हुन् । माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा 'घाइते जेन-जी नेपाल' लेखिएको ब्यानरसहित आरएन अधिकारीसहित ३ जना धर्ना बसिरहेका छन् । मङ्सिर ५ गतेदेखि धर्ना दिइरहेका उनीहरूले आज १० औँ दिन पनि निरन्तरता दिए।
जेनजी आन्दोलनलाई वैधानिकता प्रदानगरी कानुनी सुरक्षाको प्रत्याभूतिसहित मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने, भदौ २३ र २४ गते भएको गोली प्रहारको घटनमा संलग्नलाई न्यायिक कारबाही गर्नुपर्ने, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका सिडिओ छवि रिजालविरुद्ध आपराधिक मुद्दा दर्ता गरी पक्राउ गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, शहीद परिवार र घाइतेको व्यवस्थापनका लागि तुरुन्तै परिषद गठन गर्नुपर्ने, पीडित परिवारका बालबालिकाहरूका लागि छात्रवृत्ति र शैक्षिक सहयोगको व्यवस्था गरिनुपर्ने, निःशुल्क स्वास्थ्य बीमा र आवश्यक मनोचिकित्सा सेवा उपलब्ध गराइनुपर्ने, जीवनयापनका लागि रोजगारी तथा दक्ष शीप तालिम दिनुपर्ने, बजार मागअनुसार दक्षता हाँसिल गराउन तालिम सञ्चालन र रोजगारी दिनुपर्नेजस्ता माग पनि उनीहरूले अघि सारेका छन्।
संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक, सवैधानिक परिषद्मा संरचनागत सुधार, विदेशी अनुदानमा निगरानी र राष्ट्रिय स्रोतको प्रयोगलगायतका विषय पनि जेनजी घाइतेले उठाएका छन् ।
टिप्पणीहरू