विशेषबाट ‘चोखिएका’ काँग्रेस नेता शाहीलाई सर्वोच्चमा चुनौती
वाइडबडी विमान खरिद प्रकरणमा तत्कालिन पर्यटनमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहितका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
आयोगले आज सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो । वाइडबडी खरिदमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ भ्रष्टाचार भएको ठहरसहित अख्तियारद्धारा ३२ जनाउपर दायर मुद्दामा विशेष अदालतले गत वर्षको मंसिर २० गते फैसला सुनाउँदै दश जनालाई दोषी र अन्यलाई सफाइ दिएको थियो ।
विशेषले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र निगम सञ्चालक समितिका सदस्यद्वय बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गर्दा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायतलाई सफाइ दिएको हो ।
उनीहरुले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ कसुरजन्य कार्यतर्फ केही नबोली सफाइ दिइएको अख्तियारको ठहर छ । सो फैसला उल्टाई शाहीसहितलाई सजाय हुनुपर्ने अख्तियारले मागदाबी छ ।
टिप्पणीहरू