ओलीकै पक्षमा खुले बिष्णु पौडेल
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आसन्न महाधिवेशनमा आफ्नो समर्थन अध्यक्ष केपी शर्मा ओलीलाई हुने बताएका छन् ।
नेतृत्वमा ओलीको विकल्प नभएको दावी गर्दै उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह पनि मंसिर २९ गतेसम्म सहमतिमा आउने जिकिर गरे । प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेल भने, ‘पार्टी विभिन्न समस्या र संकटबाट गुज्रिदै गर्दा केपी ओली कमरेडले नै सम्हालेर यहाँसम्म ल्याउनुभयो, अबको नेतृत्व पनि उहाँकै वरिपरि हुन्छ ।’,
‘अहिले जुन ध्रुबको चर्चा भइरहेकाे छ, त्यो २९ गतेसम्म रहँदैन, जसले उम्मेदवारी घोषणा गर्नुभएको छ, उहाँहरु सहमति र एकतामा आउनुहुन्छ’, उनको थप भनाइ छ ।
पौडेलले अन्तरपार्टी लोकतन्त्रमा एमाले ‘च्याम्पियन’ बनेको जिकिर गर्दै प्रतिस्पर्धा भए पनि ओलीकै नेतृत्वमा पार्टी गोलबन्द हुने दोहोर्याए । भने, ‘केपी कमरेडलाई नेतृत्वको रुपमा स्वीकार गर्न नमान्नुपर्ने कारणहरु मैले देखेको छैन ।’
तपाईंको उम्मेदवारी कुन पदमा हो ? भन्ने प्रश्नमा पौडेलले आफ्नो लागि अहिले नै नसोचेको बताए । ‘अध्यक्षबाहेक कुनै न कुनैमा त उम्मेदवारी होला नै, तर अहिले नै मेरा क्या होगा भनेर सोचेको छैन’, उनले सुनाए ।
केही दिनअघि वक्तव्य सार्वजनिक गरेर नेतृत्वमा दावेदारी प्रस्तुत गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने कुनै हालतमा पछि नहट्ने बताएका छन् ।
‘मैले देशभरका साथीहरुसँग छलफल गरेर, सोचविचार गरेर यो निर्णय लिएको हो, म पछि हट्ने कुरै हुँदैन’, जनआस्थासँग कुरा गर्दै उनले भने, ‘बरु केपी कमरेडले मेरो योग्यता र क्षमता राम्ररी बुझ्नुभएको छ, उहाँले विचार गरेर सम्मानपूर्वक विदाइँ हुन सक्नहुन्छ, म पनि चाहन्न कि नेतृत्वको अपमान होस् ।’
टिप्पणीहरू