माओवादीमा अझै ‘अंग्रेजी’कै महामारी

माओवादीमा अझै ‘अंग्रेजी’कै महामारी फाइल फोटो

माओवादी जनयुद्धताका पार्टीभित्र अंग्रेजी लागेर अनेकौं नेताले कारबाही भोगेका थिए । पार्टीकै सहकर्मी महिला नेत्रीसँगको सम्बन्धलाई माओवादीभित्र ‘अंग्रेजी लागेको’ भनेर चित्रित गरिन्थ्यो । त्यतिबेला त्यस प्रकरणले पार्टीका धेरै नेताको पद घटुवा र केही नेताले त श्रम शिविरमा कारबाहीसमेत भोगे ।

त्यस्ता नेतादेखि स्थानीय स्तरका कार्यकर्तालाई कारबाही गर्दा हैरानी हुने गरेको अहिले पनि माओवादी नेताहरु स्वीकार्छन् । त्यस्तो काण्डमा मुछिएका अविवाहित जोडीको विवाह गराइदिने र विवाहितहरुलाई भने कारबाही गर्ने गरिएको तत्कालीन माओवादी नेताहरु बताउँछन् । 

अहिले पनि जनयुद्धकालमा ‘अंग्रेजी’ लागेका नेताहरु माओवादीमा बग्रेल्ती छन् । रामबहादुर थापा बादल,हरिबोल गजुरेल,शक्ति बस्नेत,पम्फा भुसालदेखि हेमन्तप्रकाश वलीसम्मका नेता अंग्रेजी लागेर आन्तरिक कारबाही भोगेका नेता हुन् । शान्ति प्रक्रियापछि कृष्णबहादुर महरा पनि त्यसमै थपिए । 

यीबाहेक अरु थुप्रैलाई अंग्रेजी लागेको थियो । यसबारेमा पत्रकार एवं लेखक नेत्र पन्थीले ‘जनयुद्धमा प्रेम र यौन’ नामक पुस्तकमै उल्लेख गरेका छन् । त्यतिबेलाको अंग्रेजीको प्रभाव अहिले फेरि पार्टीमा भित्रभित्रै महामारीको रुपमा फैलिन थालेको छ । यद्यपि, कारबाहीको हदसम्मकै घटना भने घटेको छैन ।

अहिले कर्णाली प्रदेशकी एक नेत्रीको दुई नेतासँग उठबस भएको चर्चा सुर्खेतका चिया पसलदेखि चोकसम्म चल्ने गरेको छ । यस खबरबाट पार्टीकै नेता रहेका उनका श्रीमानसमेत जानकार रहेको र त्यसले दुईको सम्बन्ध समेत चिसिएको बताइन्छ । 

एकताकेन्द्र समूहबाट आएका केही नेता अविवाहित समेत छन् । उनीहरुमाथि अंग्रेजी लागेको त छैन । तर, सोही समूहकै केही नेतालाई भने प्रचण्डले अंग्रेजी काण्ड देखाएर आफ्नो बशमा राख्ने गरेको गाईंगुईं सुनिन्छ ।

यता, काठमाडौंमै अर्की एक नेत्रीले आफ्ना श्रीमान अन्यसँग अवैध सम्बन्धमा रहेको भन्दै सम्झाइदिन अध्यक्ष प्रचण्डसँग गुनासो गरिरहेको खबर आएको छ । प्रचण्डले भने कारबाही गर्ने बताउँदै त्यसका लागि लिखित निवेदन ल्याउन सुझाएपछि उनी पछि हटेको माओवादी स्रोत बताउँछ । 

जनयुद्धकालमा अङ्गग्रेजी लागेका नेताहरुलाई कारबाही गर्नेदेखि जोगाएर आफ्नो निकटस्थ बनाइएको घटना पनि प्रशस्तै छन् । महरा प्रकरण सतहमा आएपछि विगत जनयुद्धकालमै कतिपय अंग्रेजी लागेका नेताहरुलाई कारबाही नगरी जोगाइएकाले त्यो शान्तिप्रक्रियापछि छरपस्ट भएको भन्दै  बैठकमै केही नेताले नेतृत्वसँग गुनासो गरेका थिए ।

अहिले फेरि जनयुद्धकालीन माओवादीबाहेक शान्तिप्रक्रियापछि जोडिएको पूर्वएकताकेन्द्र समूहमा समेत अंग्रेजीको प्रकोप सरेको बताउन थालिएको छ ।

एकताकेन्द्र समूहबाट आएका केही नेता अविवाहित समेत छन् । उनीहरुमाथि अंग्रेजी लागेको त छैन । तर, सोही समूहकै केही नेतालाई भने प्रचण्डले अंग्रेजी काण्ड देखाएर आफ्नो बशमा राख्ने गरेको गाईंगुईं सुनिन्छ । 

पछिल्लो समय प्रचण्डसँग रुष्ट पूर्व एकताकेन्द्र समूहका केही नेता जनार्दन शर्मा र राम कार्कीसँगै बाहिरिन चाहे पनि त्यही अंग्रेजीको डर देखाएर प्रचण्डले रोकेको माओवादी वृत्तमा चर्चा छ । 

ती एकताकेन्द्र समूहका नेताको गोरखातिरकी एक युवतीसँगको ‘अंग्रेजी’ काण्ड देखाएर प्रचण्डले तर्साउँदै आफूसँगै राखेको माओवादी नेताहरुबीच आजभोलि निकै चर्चा हुने गर्दछ् । यसले विगत जनयुद्धदेखिकै अंग्रेजीको महामारी शान्ति प्रक्रियाको यत्रो वर्षपछि पनि अन्त्य हुनुपर्नेमा झनै अन्यत्र सल्किएकोमा नेता कार्यकर्ताहरु चकित परेका छन् । 

यसबारेमा एक पूर्वमाओवादी नेतासँग जिज्ञासा राख्दा उनले विगत युद्धकालमा बाहिर नआएर गुपचुपमै मिलाइएका ‘अंग्रेजी’ लागेका घटना झन् धेरै भएको र अहिले पनि आपसी समझदारीमा हुने त्यस्ता घटनालाई खासै महत्व दिन आवश्यक नरहेको बताए ।  

 

टिप्पणीहरू