खोकनाका किसानको क्षमतावृद्धिमा चिनियाँ हातेमालो

खोकनाका किसानको क्षमतावृद्धिमा चिनियाँ हातेमालो

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडी) ले ललितपुरको खोकनामा कृषि सीप विकास तालिम सञ्चालन गरेको छ। स्थानीय आर्थिक विकास प्रवर्धन,युवा तथा महिलाको प्राविधिक क्षमता अभिवृद्धि र तरकारी उत्पादन सुधार गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ ।

जसअन्तर्गत स्थानीय किसानलाई आधुनिक कृषि प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्नुका साथै कृषि उपकरण र गुणस्तरीय बीउसमेत वितरण गरिएको सिएफआरडीले जनाएको छ। कार्यक्रममा सहभागी हङकङका ३० भन्दा बढी चिनियाँ स्वयंसेवक विद्यार्थीले चीन–नेपालबीचको जनस्तरीय सहकार्यलाई थप बलियो बनाएको बताइएको छ ।

प्राचीन नेवारी बस्ती खोकना काठमाडौं उपत्यकामा सांस्कृतिक र पर्यटन दृष्टिले मात्र नभई कृषि विकासको ठूलो सम्भावना बोकेको क्षेत्र हो । आधुनिक कृषि अभ्यासमार्फत् समुदायलाई सशक्त बनाउने उद्देश्यले यो परियोजना शुरु गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा सिएफआरडी नेपालकी कन्ट्री डाइरेक्टर चौ चिछियाङले तालिम विशेष रूपमा तरकारी उत्पादन प्रविधिमा केन्द्रित रहेको जानकारी दिइन् । उनले युवा र महिलालक्षित प्राविधिक सीप विकासमार्फत दिगो आम्दानी सिर्जना गर्ने लक्ष्य राखिएको उल्लेख गरिन् । संस्थाले खोकनामा पाँच वर्षदेखि महिलाको माइक्रो फाइनान्स, हस्तकला,तेल तथा चकलेट उत्पादन, विद्यालय भोजन कार्यक्रमलगायत विभिन्न समुदाय–आधारित परियोजनामार्फत सहयोग गर्दै आएको छ । 

ललितपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष रवीन्द्र महर्जनले सिएफआरडीले पाँच वर्षदेखि खोकना समुदायमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै भने, ‘चिनियाँ स्वयंसेवकहरूको सहभागिताले आपसी सिकाइ र सहकार्यलाई मजबुत बनाएको छ । आगामी दिनमा थप सहकार्यको अपेक्षा गरिएको छ ।’

सिएफआरडी नेपाल सन् २०१५ देखि सक्रिय रहँदै आएको छ। संस्थाले हालसम्म ३१८ युवालाई प्लम्बिङ र विद्युतीय तालिम प्रदान गरिसकेको छ भने दक्षिणकाली र तारकेश्वर नगरपालिकाका किसानलाई प्रविधि र वित्तीय सहयोगमार्फत व्यावसायिक कृषि र निर्यातमा जोड दिएको छ। संस्थाले नुवाकोट र ललितपुरमा जैविक चिया उत्पादनमा संलग्न सयौँ घरधुरीलाई प्रविधि र तालिमसमेत उपलब्ध गराएको छ । 

हालको कृषि तालिम सिटिइभिटीबाट स्वीकृत पाठ्यक्रमअनुसार सञ्चालन भइरहेको आयोजक संस्थाले जनाएको छ । यो कार्यक्रम संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअन्तर्गत मर्यादित रोजगारी र आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्यसँग सम्बन्धित रहेको बताइएको छ ।

टिप्पणीहरू