दिनदिनै देखिन्छ एमालेमा रमिता
प्रतिनिधि जाने एउटा क्षेत्रबाट, केन्द्रीय सदस्य लड्ने अर्कै क्षेत्रबाट अनि स्थायी बासिन्दाचाहिँ अर्कै क्षेत्रको । यस्तो रमाइलो एमालेमा मात्र देख्न र सुन्न पाइन्छ । एमाले महाधिवेशन सकिए पनि सोको चर्चा सेलाएको छैन । अझ एमाले मुख्यालय आसपास, खोला किनाराका चिया/कफी सप आदिमा फलानोको पद मैले चाहेको भए खाइदिन्थेँ, भन्दै गफ लाउनेको काम छैन । पार्टीको मूल नेतृत्वले चाह्यो भने जतासुकै, जे पनि मिल्छ भन्ने उदाहरण हुन् समिककुमार बडाल ।
काभ्रेको मंगलटारमा जन्मिएका उनको बसोबास ललितपुरको टीकाथलीमा छ । आफू र श्रीमतीको मतदाता नामावलीसमेत महालक्ष्मी नपा ५, टीकाथलीस्थित हाइ भ्यू बोर्डिङ स्कूलमा छ ।
त्यसो त समिकले संगठनमा काम नगरेका होइनन् । तर ०६६ सालमा त्रिचन्द्र क्याम्पसमा झण्डै ज्यानै जाने गरी कुटाइ खानुचाहिँ राजनीतिमा सुनौलो ढोका खुलेको हो । एक सहकर्मी भन्छन्, ‘योग्यता र क्षमता कति छ, आर्थिक रूपमा कति पारदर्शी छन् त्यो सब हामीलाई थाहा छ । तर, ठूलै गफ दिन्छन् !’ ०८१ जेठ (१–३) को विद्यार्थी महोत्सवको हिसाब हप्ता दिनमा पेश गर्छु भनेका थिए, अहिलेसम्म आय/व्यय पेश गरेनन्, गोलमटोल हिसाब देखाए । समिकले सम्मेलन/महाधिवेशनबाट शरीरका विभिन्न भागमा काटेर छियाछिया भएको फोटो देखाएरै र आधा काटिएको हातको औँला देखाएरै सहानुभूति पाएर अखिलको अध्यक्षसम्म भए । एमालेको गत महाधिवेशनमा केन्द्रीय सदस्य हुन सफल भए ।
आफ्नाका लागि केसम्म हुन्छ ?
युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने भन्दै रातको १२ बजे सुटुक्क ८ जना प्रतिनिधि पठाइयो । जसमा समिककुमार बडाल र धर्मलाल गिरीलाई समेत समेटियो । महाधिवेशनको दोस्रो दिन, नेतृत्व चयन प्रक्रिया शुरु भएपछि समिकले राजधानी प्रदेश छाडेर बागमती प्रदेशमा खुलातर्फ निर्वाचन लडे । गुण्डुको लिस्टमा परेपछि जित स्वाभाविकै थियोे ।
फलतः १६५० मत ल्याउँदै विजयी भए । प्रतिनिधि गएको राजधानी प्रदेशबाट, केन्द्रीय सदस्य बागमती प्रदेशबाट, स्थायी बसोबास ललितपुर (राजधानी) बाट । त्यही प्रकृतिका धर्मलाल गिरीको उम्मेदवारी रद्द गरियो । धर्मको स्थायी ठेगान प्युठान–जुन लुम्बिनी प्रदेशमा पर्छ । धर्म पनि विद्यार्थी विशेषबाटै प्रतिनिधि गएका । लुम्बिनी प्रदेशको युवा कोटामा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गरेका । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो । पार्टीको निर्वाचन आयोगले यस्तो तर्क ग¥यो ‘जहाँबाट प्रतिनिधि आएको हो, त्यही ठाउँमा जानु’ यसरी रुकुम पूर्वका अध्यक्ष लीलामणि गौतमलाई स्वतः केन्द्रीय सदस्य बनाइयो ।
‘गरिबका वकिल’को काम
गरिबको वकिल भनेर चर्चामा आएकी सर्लाहीकी राधिका खतिवडा केन्द्रीय सदस्य बन्न योग्य हुन् । तर उनको उम्मेदवारीमाथि कसैले दावी–विरोध गरेको भए प्रतिनिधि नै खारेज हुन्थ्यो । युवा विद्यार्थी विशेष कमिटी काठमाडौमा संगठित सदस्यता छ । प्रतिनिधि सर्लाहीबाट आइन् । एमालेको विधानअनुसार प्रतिनिधि स्वतः खारेज हुन्थ्यो, युवा विद्यार्थीका एक पदाधिकारी भन्छन्, ‘राधिकाको प्रतिनिधि उम्मेदवार किन खारेज गर्नु भनेर मात्र हो, हामीले चाहेको भए..... ।’
महेन्द्ररत्न क्याम्पस ताहाचलका उनका सहपाठी भन्छन्, ‘क्याम्पसको गिट्टी–बालुवा’ समेत बेचिएको थियो उनको पालामा । यदि खतिवडा ईश्वर प्यानलमा लागेर सर्लाहीबाट प्रतिनिधि आएको भए, ओली टिमले उनको प्रतिनिधि नै खारेज गथ्र्यो । हारेकालाई प्रतिनिधि बनाएको उदाहरण त ओखलढुंगा छँदै छ ।
(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू