मादुरो नफर्केसम्म अमेरिका विरोधी प्रदर्शन जारी
राष्ट्रपति निकोलस मादुरो र पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गर्दै भेनेजुएलाको राजधानी काराकासमा मजदुरहरूले प्रदर्शन गरेका छन् । अमेरिकी सैन्य बलले जनवरी ३ मा मादुरो दम्पतीलाई नियन्त्रणमा लिएपछि देशभर लगातार १२औँ दिनसम्म प्रदर्शन जारी छ ।
प्रदर्शनकारीहरूले अमेरिकालाई आफ्ना राष्ट्रपति रिहा गर्न दबाब दिन सडक आन्दोलन चर्काएका हुन् । उनीहरुले प्लेकार्ड बोकेर नाराबाजी गर्दै मादुरोलाई नियन्त्रणमा लिएकोमा कडा विरोध गरेका छन् ।
अमेरिकी कदमलाई भेनेजुएलाको राष्ट्रिय स्वाभिमानमाथिको आक्रमण भन्दै प्रदर्शनकारीहरुले सामूहिक संघर्षको आह्वानसमेत गरेका छन् । सहभागी प्रदर्शनकारी एलियानी फ्लोरेसले भनिन्, ‘हामी आफ्ना राष्ट्रपतिलाई तपाईंका जनता यहाँ छन्, अडिग भएर प्रतिरोधमा उभिएका छन् भन्न चाहन्छौं । तपाईं स्वदेश नफर्किएसम्म हामी आन्दोलन जारी राख्नेछौं ।’
त्यस्तै, अर्की प्रदर्शनकारी मायर्लिन बारिओसले भेनेजुएलाको सार्वभौमिकता र राष्ट्रिय सम्मानको रक्षाका लागि संघर्ष जारी रहने बताइन् । ‘हामी भेनेजुएलालीहरू आफ्नो मातृभूमि, सार्वभौमिकता र राष्ट्रको गरिमाको रक्षा गर्न दैनिक रूपमा संघर्ष गरिरहेका छौं,’ उनले भनिन् ।
यता अमेरिकाले भने मादुरोमाथि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइएको दाबी गर्दै आएको छ । उक्त घटनापछि भेनेजुएला–अमेरिका सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू