गुटका भेलामा सहभागी नहुन अपिल

गुटका भेलामा सहभागी नहुन अपिल

नेकपा (बहुमत) दोलखाले पार्टीको नाम जोडेर हुने कुनैपनि गुटका भेलामा सहभागी नहुन कार्यकर्तालाई अपिल गरेको छ । दोलखामा ओली पक्षले गुटगत भेला गरेको भन्दै नेकपाको बहुमत पक्षले त्यस्ता कार्यक्रममा सहभागी नहुन भनेको हो । ओली पक्षले कार्यकर्ता भेलाका नाममा चरिकोटस्थित एउटा पार्टी प्यालेसमा अगुवा कार्यकर्ता भेला राखेपछि नेकपा (बहुमत) ले पार्टी एकता प्रक्रियालाई समाप्त पार्ने उद्देश्यले गरिएको हर्कतमा सहभागी नहुन भनेको हो ।

बुधबार विज्ञप्ति जारी गर्दै नेकपाले भेला आयोजना गर्नेबारे कमिटीमा कुनै छलफल नभएकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । ‘भेला आयोजना गर्ने सन्दर्भमा नेकपा दोलखाको जिल्ला कार्यालय र जिल्ला कमिटीमा कुनै छलफल नभई निश्चित व्यक्तिहरूले गुटगत मानसिकताका साथ आयोजना गरेको स्पस्ट पार्न चाहन्छौ ’ जिल्ला इञ्चार्ज देवी खड्का,सह–इञ्चार्ज रचना खड्का र सचिव गोपाल पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । भेला पार्टी विधि,विधान र एकता प्रक्रिया विपरित भएको उल्लेखित विज्ञप्तिमा संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई समर्थन गर्ने बताइएको छ ।’

विज्ञप्तिमा ‘ठूलो बलिदानीपूर्ण संघर्षले प्राप्त नेपालको संविधान,संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु ऐतिहासिक कार्यभार हो । तसर्थ,असंवैधानिक,अलोकतान्त्रिक कदमविरुद्ध घोषित आन्दोलनका कार्यक्रममा सहभागी हुन सम्पूर्ण पार्टी नेता,कार्यकर्ता र आमजनसमुदायमा अपिल गर्दछौं’ भनिएको छ ।

टिप्पणीहरू