बादलका बाध्यता र फुत्केका बोली

बादलका बाध्यता र फुत्केका बोली

संसद विघटनयता प्रधानमन्त्रीको बोलिमा केही निर्धक्कपनसँगै सफेद झुट बोल्नेदेखि परिस्थितिको वास्तविकता स्वीकार्नेसम्मका कुराहरू फुत्किएका छन् । मनोविद्हरू भन्छन्, ‘मान्छेले म गलत हुँ भन्ने बुझेर पनि बुझ पचाउँदा कहिले सत्य खोलिन्छ, कहिले झुट बोलिन्छ ।’

‘मलाई थाहा थिएन र, दुई जना (प्रचण्ड–माधव) मिल्दा बहुमत हुन्छ भन्ने कुरा ?’ भनेर शुरुमै प्रधानमन्त्रीले आन्तरिक भेलामा भाषण गर्नुभयो । देशको प्रधानमन्त्रीले कानुनको यति–यति दफा, उपदफा र व्यवस्थाका आधारमा यस्तो–यस्तो गरियो भन्न सक्नुपर्नेमा उहाँचाहिँ अदालत, निर्वाचन आयोग सबै ‘मिलाइसकेको’ शैलीमा अभिव्यक्ति दिइरहनुभएको छ । राजनीतिक विश्लेषक अरुण सुवेदीको बुझाईअनुसार संसद विघटन गरेर चुनाव गराउने उहाँको ध्याउन्न होइन । प्रणाली नै उल्ट्याउन यो कदम चालिएको हो ।

अर्कातिर, समस्यामा हुनुहुन्छ, गृहमन्त्री रामबहादुर थापा (बादल) । उहाँकै समूहका (पछि छोड्ने) नेताहरू भन्छन्, ‘सानोतिनो धम्कीले उता लगिएको छैन ।’ पत्नीसमेत साथमा नलाग्ने स्थिति हुँदा कुन तहको धम्की वा प्रलोभन उहाँमाथि भयो होला अनुमान गर्न सकिन्छ । पार्टीमा केपी ओलीपछिको सहअध्यक्ष बनाउने भनियो । प्रज्ञा प्रतिष्ठानको कार्यक्रमको प्रचार सामाग्रीमा त्यहीअनुसार फोटो पनि राखियो । तर, मन्तव्यका क्रममा ‘ती त सब भन्ने कुरा न हो’ भनेजस्तो गरियो । एक त बादलको भाषणमा कुनै जोश थिएन ।

त्यसमाथि केपी ओलीपछिको वरियता पाएको भनिएको मान्छेले उहाँभन्दा ठीक अगाडि बोल्न पाउनुपर्ने हो । तर, ईश्वर पोखरेलभन्दा अगाडि बादललाई बोल्न दिइयो र केपीभन्दा पहिला ईश्वरले बोल्नुभयो । त्यसैले बादलको मनमा अझै ‘प्रतिगमन’ नै आइरहेको छ । मुखमा चाहिँ राजनीतिक कारणले चालिएको कदम भन्दै सरकारको बचाव गर्नुपर्ने स्थिति छ ।

टिप्पणीहरू