पशुपतिलाई अझै कति चाहियो पैसो ?

पशुपतिलाई अझै कति चाहियो पैसो ?

‘पशुपतिको जात्रा र सिद्राको व्यापार’ भनेको कस्तो हुन्छ, अहिले हामी देखिरहेका छौँ । अर्थात्, जनतालाई कसरी ‘सिद्रा’ बनाइँदैछ, हेरौँ न !

पर्याप्त मात्रामा कोभिडसिल आयात गर्न सकिएको छैन, पैसाको कारण । थुप्रै विकास आयोजना अलपत्र परेका छन्, पैसाले गर्दा । पशुपतिनाथ मन्दिरमा किलोको ८० लाख रुपैयाँ खर्च गरेर १ सय ८ किलो सुनको जलहरी हाल्नका लागि चाहिने ९० करोड रुपैयाँ लगभग जुटिसक्यो । तर, जनता कोरोनाले मर्ने दिन गएन । प्रधानमन्त्रीले सडक–सडकमै ३० करोड बोलिदिँदा पशुपतिनाथ झकिझकाऊ त हुने भयो, देशका अनेकन लठिभद्र मिलाउने पैसाबारे भने न प्रधानमन्त्रीको बोलि फुर्छ, न माग गर्ने निकाय, संस्था र जनप्रतिनिधिलाई तातो लाग्छ ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष माननीय मन्त्री श्री भानुभक्त ढकालको अध्यक्षतामा मिति २०७७/१०/१४ गते बसेको सञ्चालक परिषद्का निर्णयहरू ः

आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीलाई सुनको जलहरी बनाई राख्नेसम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट बेलाबेलामा चासो राख्ने गर्नुभएको, मिति २०७७÷१०÷१२ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट मन्दिर निरीक्षण तथा अनुगमनका क्रममा सरकारबाट रु. ३० करोड उपलब्ध गराउने व्यहोरा अवगत भएकाले देहायअनुसारको कार्यविधि अपनाई जलहरी निर्माण गर्ने कार्य अघि बढाउने निर्णय गरियो ।

१०८ किलोग्राम सुन लाग्ने देखिएकोले सो सुन खरिदका लागि पशुपति क्षेत्र विकास कोषले रु. ५० करोड उपलब्ध गराउने ।

रु. ३० करोड नेपाल सरकारबाट प्राप्त हुने र नपुग रकम नेपाल सरकारलाई अनुरोध गर्ने ।

जलहरी निर्माण कार्य अवधिभरका लागि नेपाली सेनालाई सुरक्षाको जिम्मा दिने व्यवस्था मिलाउन अनुरोध गर्ने ।

चाँदीको जलहरीलाई मर्मतसम्भार गरी सोमाथि सुनको जलहरी लगाउने ।

लाखबत्ति बाल्न गत साता पशुपतिनाथ पुग्नुभएका प्रधानमन्त्रीले चाँदीको जलहरी जडित शिवलिंगमा १ सय ८ केजी सुन हाल्न ३० करोड रुपैयाँ बोलिदिएपछि शिवरात्रि (फागुन २७) मा त्यहाँ झकिझकाऊ त देख्न पाइएला । तर, झकिझकाऊ हुनुपर्ने जनताको मुहार, देशको कानुन, शासन प्रणाली र संविधानचाहिँ झन्झन् कुरुप बन्दै छ । देश कंगाल हुँदैछ । प्रधानमन्त्रीले ३० करोड तुरुन्त निकासा दिने भनी आगन्तुक पुस्तिकामा गरेको लिखतका आधारमा पशुपति क्षेत्र विकास कोषको परिषद् बैठकले विहीबार रकमबारे केही बुँदा हालेर संस्कृति मन्त्रालयमा पठाएको छ । जलहरी जडान गर्न लाग्ने खर्चमध्ये ५० करोड रुपैयाँ कोषको मौज्दात रकमबाट खर्च गरिने भएको छ भने प्रधानमन्त्रीले दिने भन्नुभएको ३० करोड ‘प्रधानमन्त्रीज्यूले भनेबमोजिम…’ भन्दै माग गरेर मन्त्रालयमा चिठी पुगेको छ । यसबारे जिज्ञाशा राख्दा अर्थमन्त्री विष्णु पौडेलले निकासा प्रक्रिया शुरु भएको बताउनुभएको छ । र, पशुपति क्षेत्र विकास कोषले त्यही प्रयोजनका लागि नपुग्ने थप १० करोड रुपैयाँ पनि नेपाल सरकारसँग माग गरेको छ । त्यहाँ जडान गरिने जलहरीमा २२ क्यारेटको सुन रहने छ ।

प्रतिकिलो ८० लाखका दरले सुन खरिद हुँदैछ । एक किलोमा करिव ८० तोला सुन हुन्छ । जलहरी जडान गर्नका निम्ति पाटन औद्योगिक क्षेत्रबाट कालिगढ ल्याइने भएको छ । उनीहरुको ज्याला ४०–५० लाख रुपैयाँ अनुमान गरिएको छ । सो रकम भने दाताबाट जुटाउने योजना छ ।

टिप्पणीहरू