प्रधानमन्त्रीले जे बोल्दा पनि हुने

प्रधानमन्त्रीले जे बोल्दा पनि हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबिरुद्ध ल्याइएको अध्यादेशको विरोधमा संसद अवरुद्ध गरिएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठक अवरुद्ध भएकोमा असन्तुष्ट देखिनुभएका ओलीले सांसदहरुले अशोभनीय गतिविधि देखाएको आरोपसमेत लगाउनुभएको छ ।

पुनर्स्थापित संसद्को आइतबारको बैठकमा सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेको थियो । सरकारले विवादित अध्यादेश पेश गरेको भन्दै नेकपा प्रचण्ड-माधव पक्षका सांसदहरुले सदन बहिष्कार गर्दै बाहिरिएका थिए । त्यसपछि पनि अध्यादेश अगाडि बढाउन खोजेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले रोष्ट्रम घेराउ गर्दै सदन अवरुद्ध गरेपछि फागुन २६ गतेसम्मका लागि सदन स्थगित छ ।

सांसदहरुले यसअघि नै विवादमा रहेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरेको भए पनि प्रधानमन्त्री ओलीले भने एसिड आक्रमणविरुद्धको अध्यादेश ल्याउन नदिएको आरोप लगाउनुभएको हो । सोमबार १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो, ‘किन गुरुरु दौडेको भन्दा सरकारले एसिड आक्रमणविरुद्धको अध्यादेश टेबल गर्न आँट्यो भनेर पो रहेछ । फेल गरे भैगो नि सक्छौ भने । मन पनि परेको छैन,फेल गर्ने आँट पनि छैन ।’

ओलीले संसदको गतिविधिलाई अशोभनीय पनि भन्नुभयो । हिजोको गतिविधिलाई धामी नाचको संज्ञा दिँदै ओलीले पहिलो गाँसमै झिंगा परेको पनि भन्नुभयो । ‘मैले प्रतिनिधिसभा विघटन गरेँ, पुनःस्थापित भयो । पुनःस्थापनापछि हेर्नुस् त । एकाथरी गुरुरु कुद्छन्, अर्को थरी नारा लगाउँछन् । पहिलो गाँसमै झिंगा भनेजस्तो भएन ?’, उहाँले भन्नुभयो ।

आफ्ना कुरालाई माथि पार्न तर्कले जित्ने प्रधानमन्त्री ओलीको स्वभाव हो । उहाँमाथि दम्भ, अहंकार, हठ र झूठको खेति गरेको आरोप लाग्ने गरेको छ । आइतबारको सदन अवरुद्धको सन्दर्भमा आजको उहाँको अभिव्याक्ति त्यसैको निरन्तरता भएको एक सांसदको भनाइ छ । ‘हामीले एसिड आक्रमणविरुद्धको अध्यादेश ल्याउन नदिएको होइन । मात्र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जुन विवादमा परेको छ त्यसको विरोध गरेका हौँ ।

प्रधानमन्त्रीले आज त्यसो भनेको हो भने त्यो सरासर झूठ हो, यस्ता झूठ बोलेर कहिलेसम्म सरकार चलाउनुहुन्छ’,तीसांसदले भने ।

टिप्पणीहरू