सेनाका सम्मेलन धमाधम
नेपाली सेनाले प्रदेश २ र बाग्मती प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन गरेको छ । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा दुवै प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा सम्मेलन भएको हो ।
बर्दिवासस्थित मध्यपूर्वी पृतना मुख्यालयमा भएको सम्मेलनमा प्रदेश नं २ का ५ र बाग्मती प्रदेशका ५ गरी १० जिल्लामा बसोबास गर्ने ७ हजार ३१७ जना भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू र बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाशप्राप्त अग्रज सैनिकहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको समस्या सम्बोधन तथा व्यवस्थापनका लागि सम्मेलन प्रभावकारी हुने पनि बताउनु भयो ।
प्रधानसेनापति थापाले ‘नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७’ कार्यान्वयनमा आएको उल्लेख गर्दै विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रिकृत, पारदर्शी एवम् परिणाममुखी र आत्मनिर्भर बनाउँदै लैजाने बताउनुभयो । हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य,सीप र स्वरोजगार तथा सुविधा र सहुलियत समेत गरी कल्याणकारी कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेकोसमेत जानकारी दिनुभयो ।
उहाँले नेपाली सेनाले बहालवाला तथा अवकाशप्राप्त हिताधिकारीहरुका लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउनेतर्फ पहल थालिएकोबारे अवगत गराउनु भएको थियो । सरकारले तोकेको मपदण्डअनुरुप सेनाको पहलमा भूपू सैनिक,एकल महिला तथा आश्रित परिवारहरुलाई खोप लगाउने कामको थालनी गरिएको र अन्य हिताधिकारीहरुलाई समेत क्रमश: खोप लगाउने अभियानमा सरिक गराउँदै जाने प्रधानसेनापति थापाले जानकारी गराउनुभएको थियो ।
सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक (९१ वर्ष) बर्दिवास नगरपालिका कालापानी ३ निवासी गनर रुद्रबहादुर बस्नेत (अप्रा) र श्री समशेरदल गणबाट अवकाशप्राप्त स्वर्गीय सु. लोकबहादुर थापा (अप्रा) की श्रीमती लिखु तामाकोशी गाउँपालिका दुरागाउँ निवासी ९८ वर्षीय ज्येष्ठ एकल महिला सुमित्रा थापालाई सम्मान गरिएको थियो। त्यस्तै, सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल सिन्धुली जिल्ला कमलामाई नगरपालिकाका रामबहादुर विश्वकर्मा (अप्रा) लाई सम्मान गरिएको थियो ।
सेनाले चार वा सो भन्दा बढी सन्ततिहरुलाई सैनिक सेवामा लाग्न अभिप्रेरित गर्ने २८ जना आमाबुबालाई सम्मेलनमा सम्मान गरेको छ । त्यस्तै, फरक क्षमता भएका तथा असक्त चार जनालाई व्हिलचेयर,बैसाखी र आर्थिक सहयोग प्रदान गर्नुका साथै लघुबित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको छ ।
टिप्पणीहरू