बिसर्जन हुन नदिने नेता नेपालको वाचा
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउनुपर्नेमा जोड दिनु भएको छ ।
बुधबार काठमाडौंको बुद्धनगरमा आफूनिकट युवासंघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने अभियानमा आफू लागेको बताउनुभएको हो ।
उहाँले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न,धरासायी हुन नदिने र विसर्जनको ठाउँमा पुग्न नदिने संकल्प गर्दै त्यसका लागि देशैभरका पार्टी कार्यकर्तालाई एकतावद्ध हुन आग्रह गर्नुभयो। एमालेलाई एकतावद्ध बनाएर सिंगो कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्नेमा नेता नेपालको जोड छ । उहाँले पार्टी र आन्दोलनमा देखिएका सबै खालका विकृति विसङ्गतिका विरुद्ध संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी स्वरूप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पार्नुभयो ।
‘हामी आन्दोलनलाई नयाँ उचाईमा नयाँ शिराबाट उठाउन चाहन्छौं । कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धरासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौं । यो हाम्रो सङ्कल्प हो’, उहाँले भन्नुभयो।
नेता नेपालले मार्क्सवाद र लेनिनवादबाट निर्देशित र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न आफ्नो ध्यान गएको बताउनुभयो । आफूहरु सामाजिक न्यायसहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको पनि उहाँको भनाइ छ ।
विचार, सङ्गठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने उहाँको विश्वास छ ।
टिप्पणीहरू