शहरिया समाजको चित्र र चरित्र

शहरिया समाजको चित्र र चरित्र

– अधिवक्ता प्रेमराज सिलवाल

समाजको विकास क्रमसँगै ठुल्ठूला भवन, चिल्ला सडक, महँगा मोटर–कार, मोबाइल, ल्यापटप, सिसी क्यामेरा, अत्तर, पिज्जा, बर्गर आदि हुनुलाई विकास भन्न र सोहीबमोजिम बुझ्न थालियो । मानिसको सभ्यता, प्रगति, सम्पन्नता सबैको मानक र विकास धन–सम्पत्ति र भौतिक साधन हो भन्न थालियो । आर्थिक दृष्टिकोण र बजारवादको मान्यताबाट हेर्दा त्यो हो पनि । समाजको चिन्तन यस्तो भइदियो– ‘दूध, रोटो, ढिँडो, पिठो, सागसब्जीजस्ता कुरा खाने मानिस पाखे, गरिब र गाउँले । रक्सी, ह््वीस्की, बियर, वाइन, पिज्जा, तन्दुरी खानेहरू सम्पन्न, धनी, शहरिया र सभ्य !’

बजारिया बस्तुले मानिसको ठाउँ खोस्यो र खोस्दै छ । मानिस स्वयं बिक्रीको वस्तुजस्तो भएको छ । सबै कुरा बिकाउ बनेका छन् । प्राकृतिक रूपमा मानवमा हुने र हुनुपर्ने मूल्य, दया, करूणा, माया, प्रेरणा, सदाचार, सभ्यता, संस्कृतिजस्ता कुरा पुस्तक, उपन्यास र कथामा पाइने विषय भएका छन् । गाउँ र बस्तीमा थोरै भेटिने त्यो मानवीय गुणलाई शहरले भुल्यो । र, भुल्न बाध्य बनायो वा भुलाइदियो । शहर–बजारमा बस्तुको बिक्री, नाफा, कमाइ, आम्दानी, आय, पैसा, स्वार्थभन्दा माथि मानिसका सम्बन्ध पनि हुन्छ भन्ने कुरा कसैले भनिदियो भने त्यो आफैँ उल्लुजस्तो बन्न पुग्ने अवस्था बन्दै गयो । मानवीय धर्म, दया र सहयोगी भावना कता हरायो ? किन हरायो ?

हामीले भन्दै र सुन्दै आयौँ, ‘संकट र कठिन परिस्थितिमा मान्छे चिनिन्छ ।’ विश्वभर कोरोना रोगको महामारी एउटा गम्भीर संकट भएर आइदियो र आइरहेको छ । त्यसले शहरिया मानिस र समाजको मानवीय मूल्य, मानवीयता, संस्कृति, सभ्यता, संवेदना सबैको पहिचान गर्न सहयोग पुग्यो । शहरको बाहिरी र भित्री चित्र र चरित्र दुई खाले हुने रहेछ । शहर–बजारमा मानिस धन–सम्पत्ति भएर पनि लुकाउने र नभएर पनि देखाउने हुँदा रहेछन् । मजदुर र श्रमिक भोक र प्यासले छट्पटाइरहे । आज पनि त्यो अवस्थामा तात्विक सुधार आएको देखिन्न । राहतको खाना र दानीले दिएको अन्नपानी खोज्दै गल्ली र चोक–चोकमा भौंतारिने मानिसको लाइनको चित्रलाई अर्काथरी शहरिया मानिसहरू आफ्ना क्यामेरा र मोबाइलमा कैद गर्न चाहन्छन् । केही प्याकेट चाउचाउ र नुनका पोका गरिबलाई वितरण गरी त्यसको फोटो सामाजिक सञ्जालमा ‘लोड’ गर्नेहरूको मुहारको चित्र र राहत थाप्न लाइनमा बसेकाहरूको चित्र भिन्दै मानवजस्तै देखिन्थ्यो र देखिँदै छन् । मानौं–राहत थाप्नेहरू आदिमानव हुन् ।

चारपोका चाउचाउ बाँडेर ‘महादानी’ भनाउन मन पराउनेहरूको चित्र ‘सुकिलो–मुकिलो’ देखिन्थ्यो । शहर–बजारले आफ्नो चित्र मात्र देखाएन, सक्कली चरित्र पनि प्रदर्शन गरिदियो । ‘लकडाउनको अवसरमा घरमै तयार गरेको खसीको पकुवा, चिकेन मःम, बिरयानी..’ भन्दै खानाका विभिन्न परिकारले फेसबुकका भित्ता रंग्याउने शहरिया मानिसहरूले भोक र प्यासको अनुभव र अनुभूति गर्न सक्ने कुरा भएन । भोक र प्यास कस्तो हुन्छ ? एक छाक मात्र खाएर सुत्दा कस्तो हुन्छ ? खानाको लागि कसैको अगाडि हात पसार्नुपर्दा कस्तो हुन्छ ? कोठाको भाडा तिर्न नसकेर घरबेटीसँग हात जोडी–जोडी भाका माग्दा कस्तो पीडा हुन्छ ? किराना पसलमा चामल, दाल र तेलको पैसा तिर्न नसकेर साहुजीलाई अनुनय विनय गरी फेरि भाका थप्दै रासन माग्न जाँदाको अवस्था कस्तो हुन्छ ? काम गरेको ठाउँमा मालिकलाई तलब र पैसा माग्दा फोनमा ‘स्वीच अफ’ भन्ने वाक्य सुन्दा कस्तो हुन्छ ? यातायात र सवारी साधनमा मजदुरी गर्नेहरू गाडी थन्क्याएर एउटा कुनामा बसी दिनभर ‘लुँडो खेल्न बाध्य’ हुनुपर्दा कस्तो हुन्छ ? बिहानदेखि बेलुकीसम्म एउटा गल्लीको अँध्यारो घाम नलाग्ने सानो कोठामा थुनिएर बाहिर निस्कन नपाउँदा कस्तो हुन्छ ? बालबालिकाले खाना–पानीको माग गरी झगडा–बिलौना गर्दा आफूले केही खरिद गर्न नसक्ने र कुनै उपाय निकाल्न नसक्ने अवस्था कस्तो हुन्छ ? यस्तो दर्दनाक र पीडादायी अवस्थाबाट श्रमिक र शहरिया गरिब गुज्रेर आएका छन् र गुजँ्रदै छन् । यो शहरको रोदनको चित्र हो । अर्काेतर्फ शहर–बजारमा धन कमाएर पैसा थुपारी बसेकाहरूको चुरीफुरी हेर्नलायक देखियो र देखिँदै छ । हप्तैपिच्छे आँगन र चोकमा खसी ढाल्ने र त्यसका परिकार बनाएर खाने र त्यसलाई सार्वजनिक प्रदर्शन गर्ने प्रचलनले एक छाक राहतको खानाको लागि घाम–पानीमा लाइन लाग्नेहरूलाई कति पीडा दियो होला ? घाँटीसम्म आउने गरी व्यञ्जन र परिकार बनाएर खाने र बढी भएको ढलमा हाल्ने, बारीमा हाल्ने वा सडकमा फालिदिने प्रचलन कुन सभ्यताको नाम हो ? कुन संस्कृतिको प्रभाव हो ? जुन यसपालि मानिसले देखे र भोगे ।

कतिपय मानिसलाई ‘शहरमा हुने खाने मात्र बस्छन्’ भन्ने पनि लाग्न सक्छ । त्यस्तो विचार र मान्यता सोह्रै आना गलत रहेछ । शहरिया गरिबको पीडा र कथाको चित्र कोर्ने हो भने कैयौं चलचित्र बन्ने अवस्था छ । ‘हुने खाने र हुँदा खाने’ बीचको खाडल भयानक एवं गम्भीर हुनु सत्य कुरा हो । जर्मनका तत्कालीन दार्शनिक कार्ल माक्र्सले ‘हुने खाने र हुँदा खाने’ बीचमा इतिहासदेखि नै आर्थिक–सामाजिक द्वन्द्व रहेको र त्यसको अन्त्य नगरी समाजमा समानता नहुने भनेका थिए । सबैले एकछाक खान पाउने व्यवस्था नै प्रजातन्त्रको गुदीतन्त्र हो । नेपालको संविधानको प्रस्तावनामा ‘समाजवादउन्मुख राज्य प्रणाली निर्माण गरिने’ भनिएको छ । के हो त समाजवादको अर्थ ? गरिब र धनीबीचको खाडल कसले–कहिले पुर्ने हो ? शहरिया ‘सभ्य र सम्पन्न’ मानिसको चिन्तन, चरित्र, चलन, संस्कृति र प्रचलनमा कहिले सुधार आउने हो ? कुन प्रकारको सामाजिक–राजनीतिक प्रणाली र व्यवस्थाले धनी–गरिबबीचको आर्थिक खाडल पुर्ने हो ? एकथरी मानिस चौरासी व्यञ्जन खाएर छाद्ने र अर्काथरी मानिस भोकै पखाला लागेर मर्ने अवस्था हो गणतन्त्र ? शहरमा धनीलाई अनगिन्ती सेवा–सुविधा दिने तिनै शहरिया गरिबहरू होइनन् ? गरिब, श्रमिक तथा मजदुरहरूले रगत पसिना बगाएर श्रम नगरी शहरको चित्र बदलिएको होइन ? तिनै मजदुर र श्रमिकको आफ्नो चित्र कहिल्यै बदलिएन ।

विश्वमा आएको कोरोनाको महामारीले शहरमा बस्ने धनी, महाधनी र गरिब तथा महागरिबबीच ठूलो सामाजिक–आर्थिक विभेद र भिन्नता रहेको झल्काइदियो । गरिब खानकै लागि दिनभर भौंतारिरहने र धनी खानाका परिकार खान–पचाउन नसकेर कता फालूँ भन्दै ढलका प्वाल खोज्दै हिँड्ने सोचले शहरको असली चित्र र चरित्र छर्लंग्याइदियो । लकडाउनले मानिसलाई खानै नपाएर मर्ने र आत्महत्या गर्ने अवस्थामा लगिदियो । शहरमै सम्पन्न र धनीहरू सोही लकडाउनका कारण डिस्को, डान्स, होटल, रेष्टुरेन्ट, मल, महल, सपिङसेन्टर तथा बजारमा मनसस्तीसँग खर्च गर्न नपाएर छट्पटिएका थिए ।

कतिपय यस्ता धनी र सम्पन्न पनि छन् जो सपिङका लागि थाइल्याण्ड, मलेसिया, दुबई र युरोपमा देखिन्थे तर लकडाउन बाधक बनिदियो । कोरोना उनीहरूको लागि सपिङ गर्न र भिजिट गर्न नदिने खतरा भइदियो । गरिब, श्रमिक र मजदुरका लागि एक छाक टार्न र प्राण धान्न धौधौ पार्ने अभिशाप बनिदियो कोरोना । शहरको चित्र र चरित्र नाप्न कोरोना एउटा गतिलो माध्यम बनिदियो र बन्दै छ । आगामी दिनमा त्यो चित्र अझै फराकिलो ढंगले फैलँदै जाने स्थिति देखिँदै छ । शहर रूपमा जति सुन्दर छ, सारमा त्यति सुन्दर छैन, बरु भित्री रूपमा कुरुप र निर्दयी पो रहेछ । शहरिया समाज स्वार्थले भरिएको एउटा ठूलो घैँटोजस्तो बन्दै छ । कुन दिन कसरी त्यो फुट्ने हो कुनै टुंगो छैन ।

टिप्पणीहरू