पत्रकार महासंघको निर्वाचन र दलीय गठबन्धन

पत्रकार महासंघको निर्वाचन र दलीय गठबन्धन

नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यकालका लागि पर्सि बुधबार नयाँ नेतृत्वको निर्वाचन हुँदैछ । जिल्ला,प्रदेश र केन्द्रको एकैसाथ हुने निर्वाचनमा हिजो महासंघको जिल्ला शाखाका लागि ७७ वटै जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचित प्रणालीद्वारा हुन लागेको निर्वाचनमा नेपाली काँग्रेसनिकट प्रेस युनियन नेतृत्वको गठबन्धन र एमाले (ओली) निकट प्रेस चौतारी नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुबै गठवन्धनले प्रचारप्रसार र निर्वाचन तयारी शुरु गरिसकेका छन् ।

यसैबीच प्रेस युनियन नेतृत्वको १२ वटा संगठनको गठबन्धनले जिल्ला नेतृत्वमा भागबण्डा गरेको छ । गठबन्धनले प्रेस युनियन,प्रेस संगठन,प्रगतिशील पत्रकार संघ र प्रेस चौतारी (खनाल–नेपाल) पक्षबीच आपसी सहमतिमा जिल्ला शाखाको नेतृत्व (अध्यक्ष) टुंगो लागेको जनाएको छ ।

भागबण्डाअनुसार अधिकांश जिल्लामा प्रेस युनियनले अध्यक्ष लिने सहमति छ । प्रदेश १ का १४ जिल्लामा प्रेस युनियनले ९ जिल्लामा नेतृत्व लिने सहमति छ भने प्रेस संगठनले दुई जिल्लाको नेतृत्व लिएको छ । त्यस्तै प्रेस चौतारी (खनाल–नेपाल) ले तीन जिल्लामा नेतृत्व पाएको छ । सहमतिअनुसार झापा,मोरंग, इलाम,पाँचथर,धनकुटा,तेह्रथुम, संखुवासभा,खोटाङ र सोलुखुम्बुको नेतृत्वको युनियनले लिएको छ । सुनसरी र उदयपुरमा प्रेस संगठनले नेतृत्व लिँदा ताप्लेजुङ,भोजपुर र ओखलढुंगाको नेतृत्व चौतारीको भागमा परेको छ । कतै कतै बागी पनि मैदानमा छन् ।

त्यस्तै, प्रदेश २ का ८ जिल्लामा चार जिल्ला युनियनले र चार जिल्लाको नेतृत्व प्रेस संगठन र चौतारीले लिएको छ । पर्सा, सर्लाही, महोत्तरी र सप्तरी युनियनको भागमा परेको छ भने प्रेस संगठनले धनुषा र सिराहामा नेतृत्व पाएको छ । चौतारीले बारा र रौतहटमा नेतृत्व लिएको छ ।

यता,बागमती प्रदेशमा चितवन, धादिङ,मकवानपुर, काभ्रे, दोलखा र रामेछापमा प्रेस युनियनले नेतृत्व लिने सहमति छ । नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक र रसुवामा प्रेस संगठनले नेतृत्व लिएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा पनि अधिकांश जिल्लामा प्रेस युनियनले नेतृत्व पाउने गरी सहमति भएको छ । जसअनुसार ११ मध्ये ७ जिल्ला युनियनले लिएको छ । बाँकी चारमा प्रेस संगठन र प्रेस चौतारीले दुई–दुई जिल्ला बाँडेका छन् । गण्डकीमा कास्की, लमजुङ्ग, नवलपुर, पर्वत, स्याङ्जा, तनहुँ र मनाङ यूनियनको भागमा परेको छ । गोर्खा र बाग्लुङ्गमा प्रेस संगठनले नेतृत्व लिएको छ भने म्याग्दी र मुस्ताङ चौतारीले पाएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा बर्दिया, बाँके, कपिलवस्तु, प्युठान, रुपन्देही र नवलपरासीमा यूनियनले नेतृत्व लिने सहमति छ । दाङ, रोल्पा र अर्घाखाँचीमा प्रेस संगठनले नेतृत्व लिँदा चौतारीले गुल्मी पाएको छ । कर्णाली प्रेदेशमा सुर्खेत, हुम्ला, जाजरकोट र मुगुमा युनियन तथा कालिकोट, जुम्ला र पश्चिम रुकुमको नेतृत्व प्रेस संगठनले लिने सहमति छ । त्यस्तै, डोल्पा, दैलेख र सल्यान चौतारीले लिने सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेशमा यूनियनले कैलाली, कञ्चनपुर, डडेल्धुरा, बझाङ, अछाम र डोटीमा नेतृत्व लिएको छ । प्रेस संगठनले बाजुरामा नेतृत्व लिँदा प्रेस चौतारीले दार्चुला र बैतडीमा नेतृत्व हात पारेको छ ।

यता, उपत्यका प्रदेशमा भने प्रेस संगठनले दुई जिल्लाको नेतृत्व पाएको छ । युनियनले भक्तपुरको नेतृत्व लिँदा संगठनले काठमाडौँ र ललितपुरमा नेतृत्व लिएको हो ।

प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी र प्रगतिशील पत्रकार संघका उदय जिएमद्वारा जारी संयुक्त विज्ञप्तिमा स्थानीय तहमा हुने सहमतिलाई बन्देज नगरिने उल्लेख छ । त्यस्तै, यही सहमतिलाई आधार बनाएर केन्द्रीय एलाइन्सअनुसार जिल्ला तहमा निर्वाचन संयन्त्र बनाउन समेत विज्ञप्तिमा भनिएको छ ।

सामुदायिक रेडियोमा झैं पार्टी बिभाजनको नकारात्मक असर यसपालि वामपन्थीहरुलाई पत्रकार महासंघको चुनावमा राम्रैसङ्ग परेको देखिन्छ ।

टिप्पणीहरू