राष्ट्रपतिकी छोरीको ठाउँ मिलाउँदा

राष्ट्रपतिकी छोरीको ठाउँ मिलाउँदा

जब छोरी पनि प्रकट भइन्, तब हस्याङफस्याङ् शुरु भयो विमानस्थलमा । राष्ट्रपति विद्यादेवी भण्डारी ५४ जनाको टोलीसहित गत हप्ता बंगलादेश जाने क्रममा यस्तो घटना भएको हो । राष्ट्रप्रमुखको औपचारिक भ्रमणपूर्व स्वदेशबाट बिदाइ गर्नुअघि सलामी दिनुपर्छ ।

त्यस्तो सलामी राष्ट्रप्रमुखले लिइरहँदा परिवारका सदस्यले छेउमै उभिने अधिकार राख्छन् । तर, जेठी छोरी उषाकिरण भ्रमणदलमा सामेल छिन् भन्ने कुराको सबैतिर पूर्वसूचना नहुँदा प्रोटोकल मिलाउन विमानस्थलमा हम्मे प¥यो । स्वदेश र विदेशका विशिष्ट व्यक्तिहरूको प्रोटोकल मिलाउने जिम्मा हुन्छ, परराष्ट्रका शिष्टाचार महापालको । शिष्टाचार महापाल छन्, सहसचिव दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) ।

भर्खरै बेलायतको राजदूतबाट फर्किएका उनलाई त्यसबारे आइडिया भएन । त्यसमाथि राष्ट्रपति निवास र कार्यालयको सुरक्षादेखि सबै आन्तरिक व्यवस्थापन जर्नेलको कमाण्डमा विशेष सुरक्षा बलबाट हुन्छ । जंगी अड्डामा बेतनबृत्ति हेर्ने छुट्टै जर्नेल छन्, सुरजबाबु सुनुवार । उनले गृह मन्त्रालयको सुरक्षासम्बन्धी प्रोटोकलका आधारमा काम गर्नुपर्छ । तर, जब बंगलादेश भ्रमणपूर्व विमानस्थलमा राष्ट्रपतिले सलामी लिँदै गर्दा छोरीलाई कहाँ उभ्याउने भन्ने पेचिलो प्रश्न उत्पन्न भयो, तब सुरजबाबु असिनपसिन भए । उनले हत्तपत्त कुरा मिलाए, सलामी लिँदै गर्दा छोरीलाई उभ्याउने ठाउँबारे । र, प्रधानसेनापतिको दायाँपट्टि राखेर संकट टारियो ।

यो काम परराष्ट्रको हो तर आइलागेपछि कसै न कसैले व्यवस्थापन भने गर्नुपर्छ । सुरजबाबुको काम हो, सैन्य समारोह संयोजन र मर्यादाक्रम मिलाउने । भारतीय सेनापति मनोज नरवाणे आउँदा कारकेड व्यवस्थापन लगायतका कामको संयोजन उनैले गरेका हुन् । हामी गणतन्त्रको नयाँ अभ्यासमा छौं ।

यस्तो बेला स–साना कुरा मिलाउन नसक्दा विदेश यात्राजस्तो संवेदनशील प्रसंगमा अप्ठ्यारो पर्नु अस्वाभाविक हैन, शुरुमा सानी नातिनी पनि जाने कुरा थियो, त्यो त एकदिने यात्राका कारण नलाँदा समस्या समाधान भयो तर सलामी लिने बेलामा अप्रत्यासित अलमल भैदिँदाको अप्ठ्यारो भने पर्याप्त सूचना समन्वयमार्फत सल्टाउन जरुरी देखिन्छ ।

टिप्पणीहरू