पत्रकारमा बागीलाई पार्टीको कार्वाही
पत्रकार महासंघलाई राजनीतिक दलको भातृ संगठन बनाइएको आरोप लागिरहेका बेला नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रसम्बद्ध पत्रकार संगठनका बागी उम्मेदवारमाथि कारवाही गरिरहेका छन् ।
प्रेस युनियन र सरकारपक्षीय प्रेस चौतारीबीच कर्णाली प्रदेशसहित देशका विभिन्न भागमा गठबन्धनको प्रयासपछि कारवाही गरिएको युनियनका अध्यक्ष बद्री सिग्देलले बताएका छन् ।
महासंघको बुधबार हुने सबै तहको निर्वाचनका क्रममा युनियनसहित प्रेस चौतारी, प्रेस संगठन, प्रगतिशील पत्रकार संघसहितको गठबन्धन छ । केन्द्रीय गठनबन्धविपरित चुनावी अभ्यासमा लाग्दा पूर्वी रुकुम, सल्यान, हुम्ला, दैलेख, जुम्ला, कालिकोट, कपिलबस्तु जिल्लाहरुमा युनियनले आफ्ना कार्यकर्तालाई कारवाही गरेको हो ।
त्यस्तै, माओवादी केन्द्रसम्बद्ध प्रेस संगठनले प्रदेश १ मा बागी उम्मेद्वारी दिएका तारामणि सापकोटासहितका उम्मेदवारलाई संगठनबाट कारवाही गरेको अध्यक्ष महेश्वर दाहालले जानकारी दिए ।
प्रेस चौतारीले डडेल्धुरासहितका केही जिल्लामा केन्द्रीय गठबन्धनविपरित गतिविधि गर्ने आफ्ना सदस्यहरुलाई कारवाही गरेको उपाध्यक्ष विश्वमणि सुवेदीले बताए ।
प्रेस संगठनले भने ताप्लेजुङसहितका जिल्लामा गठबन्धनमा सहभागी संगठनकै विरुद्ध बागी उम्मेदवारी दिएको छ ।
टिप्पणीहरू