विदेश बस्ने नेपालीले किन ठग्छन् नेपालीलाई !

विदेश बस्ने नेपालीले किन ठग्छन् नेपालीलाई !

एकजना आप्रवासी नेपाली नेता (एनआरएन) करोडौं कुम्ल्याएर पोर्चुगलबाट फरार भएलगत्तै क्यानाडाको ब्राह्मटन शहरमा रहेका नेपाली पर्यटन दूत नरबहादुर टण्डनमाथिसमेत अवैध रकम असुलेर नेपालबाट मानव तस्करी गरेको आरोप लागेको छ । दाङ घर भई डेढ दशकदेखि क्यानाडामा बस्दै आएका उनलाई पछिल्लो पटक सिन्धुपाल्चोकका राजु गिरीले पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप लगाएपछि रहस्य खुलेको हो ।

गिरीको तर्फबाट अस्मिता गिरीले २३ फागुन २०७४ मा माछापुच्छ्रे बैंकमा लक्ष्मी केसीको खातामा सिटिजन्स बैंकको चेकबाट पाँच लाख रुपैयाँ जम्मा गरिदिएकी थिइन् । टण्डनको आदेशअनुसार ६५२३५२४३९०७९७०१८ नम्बरको खातामा उक्त रकम जम्मा गरिएको थियो । तर, तीन वर्षसम्म आफू न भीसा,न पैसा फिर्ताको अवस्थामा पुगेपछि गिरीले टण्डनको गलत कार्यको पर्दाफास गरेको बताएका छन् ।

ब्राह्मटनमा ट्रक चलाउने पेशा गर्दै आएका टण्डनले क्यानाडा पुर्याउने आश्वासनका साथ गिरीसँग पाँच लाख रुपैयाँ बुझेको विभिन्न कागजातबाट समेत पुष्टि हुन्छ । घटनाक्रमअनुसार नरबहादुरले गिरीलाई क्यानाडाको भीसा लगाउन कतारस्थित कन्सुलर कार्यालयमा निवेदन दिन लगाएका थिए । तर,भीसा नपाएपछि आफूले पैसासमेत फिर्ता नपाएको र टण्डन सम्पर्कविहीन भएको व्यवहोराका साथ उनले क्यानाडास्थित नेपाली दूतावास, एनआरएनए क्यानाडा,नेपाल पर्यटन बोर्ड तथा क्यानाडास्थित अन्य व्यक्तिहरूसँग समेत यसअघि नै हारगुहार मागेको बताइएको छ । टण्डन सन् २०१६ देखि २०१८ सम्म पहिलाे पटक पर्यटनदूत थिए । त्यतिबेला एनआरएनए क्यानाडाका केही पदाधिकारीसँग मिलेर टण्डनले दर्जनौं व्यक्तिहरूबाट मोटो रकम लिई क्यानाडामा मानव तस्करी गरेको रहस्यसमेत खुल्न थालेको बताइएको छ । त्यसरी क्यानाडा पुर्याइएका कतिपयले पीआर लिएपछि मात्र उक्त रहस्य खोलेका हुन् । उनीहरूले आफूले पच्चिसौं लाख रुपैयाँ तिरेर क्यानाडा आएको बताउन थालेका छन् ।

क्यानाडा आउन चाहने नेपालीलाई विश्वास दिलाउन टण्डनले आफ्नो क्यानेडियन पासपोर्ट,क्यानेडियन ड्राईभिङ् लाइसेन्स र पर्यटनदूत नियुक्तिको फोटो देखाउने गरेको बताइन्छ । मानव तस्करीमा संलग्न भएको गम्भीर आरोप लागेको व्यक्तिले ओली सरकारबाट पुनः पर्यटन दूतको नियुक्ती पाएको खबरले क्यानाडामा रहेका नेपालीहरु अचम्भित बनेका छन् ।

उनीहरूमध्ये कतिपयले के हो भनेर सोध्दा टण्डनले ‘सक्नेले गर्छन्’ भन्ने जवाफ फर्काएको स्रोतको दाबी छ । उनीमाथि दुईवटी श्रीमती भित्र्याएको आरोप समेत लागेको छ । स्रोत भन्छ ‘अरुको कान्छी श्रीमती आफूसँगै हुन्छन् । उनको चाँहि जेठी उता, कान्छी यता छिन् ।’

टिप्पणीहरू