कोभिडले रोकियो तरुण सम्मेलन

कोभिडले रोकियो तरुण सम्मेलन

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले सातवटै प्रदेशमा गर्न लागेको तरुण सम्मेलन स्थगित गरेको छ । आज मातहतका कमिटीलाई परिपत्र गर्दै तरुण दल केन्द्रीय समितिले कोरोना संक्रमणका कारण घोषित मितिमा बृहत तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम नहुने जानकारी दिएको हो ।

अध्यक्ष जीतजंग बस्नेतद्वारा तरुण दलका सबै जिल्ला अध्यक्षलाई गरिएको परिपत्रमा घोषित मितिका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाइएको छ।

‘तीब्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण मानव समुदाय दिनानुदिन आक्रान्त हुँदै गैरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल तरुण दल केन्द्रीय समितिद्वारा गण्डकी प्रदेशको पोखरा,प्रदेश २ को बारालगायत देशका सबै प्रदेशहरुमा गर्न लागिरहेको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु हाललाई घोषित मितिमा नहुने गरी स्थगित भएका छन्’,परिपत्रमा भनिएको छ ।

तरुण दलले कोरोना भाइरसको प्रकोप नियन्त्रणमा आएपछि पुन: नयाँ मिति सार्वजनिक गर्ने पनि जानकारी दिएको छ । परिपत्रमा भनिएको छ, ‘कोरोनाको प्रकोप नियन्त्रणमा आई सामाजिक वातावरण सहज भएपछि केन्द्रीय समितिले पुन: नयाँ मिति तोकी कार्यक्रम सार्वजनिक गरिने व्यहोरा यसै सूचनामार्फत दलका सम्पूर्ण जिल्ला समिति एवं सम्बन्धित सम्पूर्ण तरुण साथीहरुलाई जानकारी गराइन्छ ।’

तरुण दलले आगामी वैशाख १२ गते गण्डकी प्रदेशमा र जेठ १ र २ गते प्रदेश नं. २ मा सम्मेलनको तयारी गरेको थियो । सबै प्रदेशमा सम्मेलन गर्ने बताएको तरुण दलले अन्य प्रदेशको मिति सार्वजनिक गरेको थिएन।

टिप्पणीहरू