वनको आगो घरमा, बृद्धाको ज्यान गयो

वनको आगो घरमा, बृद्धाको ज्यान गयो

देशका विभिन्न ठाउँमा लागेको आगलागीमा परी धनजनको ठूलो क्षति भएको छ । आइतबार स्याङ्गजा,काठमाडौँ,रोल्पा,धनुषा र सिन्धुलीका विभिन्न स्थानमा लागेको आगलागीबाट धनजनको क्षति भएको प्रहरीले जनाएको छ ।
स्याङ्जाको अर्घौदीस्थित सामुदायिक वनमा लागेको आगलागीमा एक बृद्धाको ज्यान गएको छ । आँधीखोला गाउँपालिका–१, अर्घौदी शहरेखोलास्थित सामुदायिक जंगलमा लागेको आगलागीमा परेर हिजो सोही ठाउँकी ७२ वर्षीया टिकाकुमारी तिवारीको मृत्यु भएको हो । जंगल नजिकै परालको टौवामा आगो फैलिँदा टौवा नजिकै रहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै,काठमाडौंको शंखरापुर नगरपालिका–१ लामाटोल बस्ने ४५ वर्षीय मुइसानी न्युसार लामाको टहरामा विद्युत सर्ट भई आगलागी हुँदा करिब ५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

रोल्पाको लुङ्ग्री गाउँपालिका–५ उपल्लो सेवार गोठीखर्क बस्ने तुले घर्ती मगरको घरमा विद्युत सर्ट भई लागेको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १० लाख भन्दाबढी मूल्य बराबरको धनमाल नष्ट भएको बताइएको छ ।
धनुषामा फोहोर जलाउने क्रममा आगलागी हुँदा गाडी जलेको छ । प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलिया विद्युत सब स्टेशनको कम्पाउण्डमा राखिएको फोहोर जलाउने क्रममा आगलागी हुँदा कार्यालयभित्र राखिएको पुरानो टाटा कम्पनीको पिकअप तथा टोयोटा गाडी जलेर आंशिक क्षति भएको छ ।

आगलागीबाट अन्डर ग्राउण्ड केबलको तार पूर्ण जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।

उता, वनमा लागेको आगो फैलिँदै जाँदा गोठ जलेर धनमाल नै नष्ट भएको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थित सहस्रधारा सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने धनबहादुर बिकसहित ४ जनाको गोठ जलेको प्रहरीले बताएको छ । आगलागीबाट करिब १४ लाख भन्दाबढीको धनमाल नष्ट भएको बताइएको छ ।

टिप्पणीहरू