भारतीय पूर्व सेनापतिलाई नेपाल आउन बाटो खुल्ला
हाल प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा कार्यरत भारतीय पूर्वसेनाध्यक्ष विपिन रावतलाई नेपाल आउने बाटो खुलेको छ । भ्रमणको लागि क्याबिनेट बैठकले गत हप्ता सैद्धान्तिक स्वीकृति दिएसङ्गै नेपाली सेनाले औपचारिक निम्तोको तयारी थालेको छ ।
तर,यसैवीच बढ्दो कोरोना संक्रमणका कारण भ्रमणको मिति,समय र अवधि हालसम्म तय भएको छैन । स्रोतका अनुसार नेपाली सेनाले औपचारिक निम्तो पठाएपछि मात्र भारतीय सेनासँगको समन्वयमा औपचारिक तयारीको प्रक्रिया शुरु हुनेछ ।
स्रोतका अनुसार रावत विगतमा नेपाल भ्रमणमा आउँदा मुक्तिनाथको दर्शन गर्न छुटेकाले यस पटक व्यक्तिगत चाहनामा भ्रमण हुन लागेको हो ।
उहाँ सेनापति हुँदा नेपाल आएको बखत मुक्तिनाथ दर्शनको लागि दुई पटक जान खोज्दा दुबै पटक हेलिकोप्टर तयारी अवस्थामा राखियो । तर मौसमले साथ नदिँदा भ्रमण रद्ध भएकाले अहिले आउन खोजिएको हो । बरु त्यसपछि पोहोर आउँदा प्रधानमन्त्री मोदीले भने मुक्तिनाथ जान पाउनुभयो ।
मन्त्रिपरिषद्मा लगिएको रक्षा मन्त्रालयको प्रस्तावमा उताको आग्रहमा रावतको भ्रमण हुन लागेको भनिएको छ । तर, कोभिड–१९ को महामारी भएकाले भ्रमण कहिले हुन्छ यसै भन्न नसकिने स्रोतको दाबी छ ।
टिप्पणीहरू