श्रमकानुन कार्यान्वयनमा नेता नेपालको जोड
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले श्रमजीवी तथा मजदुर वर्गका समस्याप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
‘श्रमजीवी तथा मजदुर वर्गले उठाउँदै आएको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रम कानुनमा गरिएका व्यवस्थाको कार्यन्वयन जस्ता मागप्रति गम्भीर बन्न र कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधन गर्न सरकारको विशेष ध्यानाकर्षण गराउँछु’, नेता नेपालले भन्नुभएको छ ।
समाजवादउन्मुख अर्थव्यवस्थाको आधार नै श्रमिक वर्ग भएकाले श्रमको सम्मान र मर्यादा कायम गर्न उहाँले सबैलाई आग्रह पनि गर्नुभएको छ । सक्रिय युवा जनशक्ति विदेशीले क्रम बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दौ उहाँले स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
नेता नेपालले भन्नुभएको छ, ’स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान र सीप देश विकासमा लगाउन, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न पनि आग्रह गर्दछु ।’
नेपालको कम्युनिष्ट आन्दोलनको एकता र रक्षाका लागि श्रमिक वर्ग एकजुट भएर अगाडि बढ्ने नेता नेपालको विश्वास छ ।
टिप्पणीहरू