सुदूर पश्चिमबाट भित्रिएका अधिकांशमा संक्रमण,खेतबारीको कान्ला नाघेर आउनेको पत्तो छैन

सुदूर पश्चिमबाट भित्रिएका अधिकांशमा संक्रमण,खेतबारीको कान्ला नाघेर आउनेको पत्तो छैन

कोरोना महामारीको दोस्रो लहरसँगै नेपाल भारत सीमाका विभिन्न नाकाबाट मुलुक प्रवेश गर्नेहरूमा अत्यधिक संक्रमण देखिन थालेको छ ।

हिजो सुदूर पश्चिम नेपालका विभिन्न नाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने तीमध्ये १० जनाको मृत्यु भएको छ ।

बैतडीको झुलाघाट नाकामा गरिएको १९ जनाको एण्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कञ्चनपुरको गड्डाचौकीबाट नेपाल प्रवेश गरेका १ सय ३ जनाको परीक्षणमा ७ जनामा एण्टिजेन पोजिटिभ देखिएको छ । कैलालीको गौरीफण्टा (डोकेबजार) बाट छिर्नेमध्ये २ सय २९ जनाको परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भारतबाट हालै नेपाल प्रवेश गरेकामध्ये कैलालीमा ४, कञ्चनपुरमा ४ तथा अछाममा २ गरी कूल १० संक्रमितको मृत्यु भएको छ ।

शनिबार पनि भारतबाट नेपाल प्रवेश गरेका धेरैमा संक्रमण पुष्टि भएको थियो । गड्डाचौकीमा गरिएको पीसीआरबाट ६८ तथा एण्टिजेन परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी गौरीफण्टा (डोकेबजार) मा २ सय ६१ जनाको एण्टिजेन परीक्षणमा ३१ जना पोजिटिभ पाइएको छ ।

उता सशस्त्र प्रहरी बलको नं. ७ बैध्यनाथ वाहिनीमा ७ जना,नं.३६ गण हेडक्वार्टर डोटीमा १ जना र नं.३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुरमा १ जना सशस्त्र प्रहरी कर्मचारीमा एण्टिजेन पोजिटिभ आएको छ ।

यसैबीच शनिबार हालै भारतबाट अछाम आएका एण्टिजेन पोजिटिभ एक जनाको मृत्यु भएको छ । यसरी तोकिएको नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा बढ्दो संक्रमण दर पाइएकाले खुल्ला सीमानाको कारण संक्रमणले अझै भयावह रुप लिनसक्ने बताइन्छ ।

भारतमा महामारी बढेसँगै नेपाल फर्केका तर,खेत,बारी र खोला नालाबाट कति संक्रमित लुकिछिपी भित्रिए भन्नेबारे यकिन तथ्याङ्क कसैसँग पनि छैन ।

टिप्पणीहरू