औषधी माफियालाई खोप लगाउने कि कानुनले कस्ने ?

औषधी माफियालाई खोप लगाउने कि कानुनले कस्ने ?

कोरोनाविरुद्धको खोप आयात गर्ने विषयमा भएको हुकुम डिस्ट्रिब्युसन एण्ड लजिष्टिक प्राइभेट लिमिटेडसँगको झण्डै ३६ करोड रुपैयाँ कमिशनकाण्ड बाहिरिँदै गर्दा सरकारले अर्का औषधी माफियालाई खोप खरिदको अनुमति दिएको छ ।

गत वर्ष चीनबाट कोरोनाविरुद्धका स्वास्थ्य सामाग्री ल्याउने क्रममा विवादमा आएको ओम्नी समूूहसँग आवद्ध रहेको भनिएका विशाल पण्डितलाई अहिले भारतबाट कोरोनाविरुद्धको १ लाख डोज भ्याक्सिन ल्याउन इजाजत दिइएको छ ।

“यस्ता बदमासलाई कारबाही गर्न बरु कडा प्रावधानसहितको अध्यादेश ल्याएको भए सरकारको लोकप्रियता चुलिन्थ्यो । तिनलाई त खोप होइन कानुन लगाउनुपर्ने हो ।”

अहिले दिइएको गुपचुप इजाजतको चुरो विषयमा सबैजना तैं चुप मै चुपको अवस्थामा बसेका छन् । स्रोत भन्छ ‘हिजो ओम्नीमा पनि उनी पछाडि नै बसेका थिए । त्यतिबेला अदृश्य ढंगले सहभागी भएका शक्तिशाली मान्छेहरू अहिले खोप आयातमा पनि संलग्न भएको आशंका गरिएको छ ।

“विशाल पण्डितलाई अहिले भारतबाट कोरोनाविरुद्धको १ लाख डोज भ्याक्सिन ल्याउन इजाजत दिइएको छ ।”

एकजना भूतपूर्व मन्त्रीले भने ‘यो औषधी माफियाको जालो पनि अचम्मको छ । गत वर्ष आफूले गर्नुसम्म गरे,अन्तमा तत्कालीन मन्त्री भानुभक्तलाई डामेर छडिदिए । यिनको भर गर्न हुँदैन ।’

पण्डित तिनै हुन् जसले सिंहदरबारको दक्षिण ढोका र राष्ट्रिय अनुसन्धान विभागको सामुन्ने मापदण्ड विपरित गगनचुम्बी बुटिक होटल ठड्याएका छन् । त्यतिबेला त्यो भवन भत्काउनु या सरकारले अधिग्रहण गर्नुपर्छ भनी चट्टानी अडान राख्ने गृहसचिव प्रेमकुमार राई अहिले अख्तियार प्रमुख हुुनुहुन्छ ।

भारतबाट भ्याक्सिन ल्याउने भनेर हल्ला गरिएको महिनौं बितिसक्दा काम अघि नबढेको र पारदर्शिता नदेखिएको हुँदा कतिपयले मन्त्रालयको राजनीतिक नेतृत्वलाई समेत शंकाको दृष्टिकोणले हेरेका छन् । मन्त्रालय स्रोत भन्छ, ‘मुखमा आउन लागेको गाँस खोसिएपछि आश गरेका जति सबै फायर भएका छन् ।’

महामारीविरुद्धको खोप खरिदमा गर्न खोजिएको बदनियत र चलखेलमा संलग्नलाई जन्म कैदले समेत नपुग्ने कानुन व्यवसायीहरूको धारणा छ । यस प्रकरणमा सरकार चोखो छ भने जनस्वास्थ्य ऐनमा भएको व्यवस्थाबमोजिम उनीहरूलाई तत्काल कारबाही गरिनुपर्ने जनताको माग छ ।

हुन पनि राणाको पालामा समेत महामारीमा कसैले बदमासी गरे समाजका पाँच जना मान्छेलाई बोलाएर सबका सामु टाउको छिनाउने उर्दी थियो । तर,अहिले सर्वसाधारणको स्वास्थ्य र जीवनसँग जोडिएको विषयमा खेलबाड गर्नेलाई केही न केही ।

सरकार र प्रधानमन्त्रीतर्फ व्यंग्य गर्दै एमालेकै एकजना नेता भन्छन् ‘यस्ता बदमासलाई कारबाही गर्न बरु कडा प्रावधानसहितको अध्यादेश ल्याएको भए सरकारको लोकप्रियता चुलिन्थ्यो । तिनलाई त खोप होइन कानुन लगाउनुपर्ने हो ।’

टिप्पणीहरू