बादलको बाटोमा बाधै बाधा, कसलाई नाफा कसलाई घाटा ?

बादलको बाटोमा बाधै बाधा, कसलाई नाफा कसलाई घाटा ?

जेठ ६ गतेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेको उम्मेदवार भनेर प्रचार गरिनुभएका गृहमन्त्री रामबहादुर थापा बादल चुनावी दौडबाट बाहिरिने सम्भावना बढेको छ । भोलि मनोनयन दर्ताको समय आइसक्दा पनि बादलको उम्मेदवारी कन्फर्म नगरिएपछि उहाँ चुनावी दौडबाट साइड लागेको अनुमान गरिएको हो ।

एमालेभित्रको अन्तरद्वन्द्व कायमै राखेर चुनावमा जाँदा हारिने आंकलनसहित बादल आफैँ उम्मेदवार बन्न अनिच्छुक देखिएको बताइन्छ । यसअघि आफैले जितेको सिटमा अहिले हार्ने अवस्था बनेपछि बादल चुनाव नलड्ने मनस्थितिमा पुग्नुभएको श्रोतको दावी छ ।

माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य जित्नुभएका बादललाई त्यतिबेला एमाले र माओवादी केन्द्रको साथ थियो । बादलको जीतलाई कन्फर्मु गर्न एमालेका बेदुराम भुसाललाई ब्याक गराइएको थियो । त्यतिबेला जीत निश्चित भएपछि मात्र बादल बल्ल अघि सर्नुभएको हो ।

औपचारिक निर्णय नगरेपनि एमालेले यसअघि नै बादललाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । गत बैशाख १० गते बसेको केन्द्रीय कमिटीको बैठकमा बादलको उम्मेदवारी घोषणा गर्दै ओलीले जसरी पनि जित्नुपर्ने बताउनुभएको थियो । तर पछिल्लो बैठकसम्म आइपुग्दा चुनाव हार्ने अवस्था देखेपछि बादललाई उठाउन नहुने निष्कर्षमा ओलीसमेत पुग्नुभएको बताइन्छ ।

एमालेकै माधव नेपाल पक्ष विपक्षी गठवन्धनमा लागेपछि बादलको जीतमाथि कालो बादल लागेको हो । एमाले एक ढिक्का हुँदा जितिने निश्चित देख्नुभएका बादलले माधव पक्षले भोट नहाल्ने स्थिति देखेपछि आफैँ ब्याक भएको बताइन्छ । यद्यपि ओली पक्षले अहिलेसम्म उम्मेदवारीबारे औपचारिक निर्णय गरेको छैन ।

विपक्षी गठवन्धनले भने एमालेकै माधव पक्षका डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । काँग्रेस,माओवादी,एमाले (माधव) र जसपाको संयुक्त उम्मेदवार बनेका खिमलालले चुनाव जित्ने परिस्थिति बनेपछि बालुवाटार बादलको विकल्पको खोजीमा जुटेको बताइएको छ ।

एक सिटका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशका ११० जना सांसद र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एकजना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना गरिन्छ । मतभार क्याल्कुलेशन गर्दा विपक्षी गठवन्धनको ४१०० हुन्छ भने एमाले एक्लैको ५२०० छ । तर सबै मत ओलीको नियन्त्रणमा छैन । माधव समूहलाई विश्वासमा लिन नसके जसलाई उठाए पनि जीत निकाल्न एमालेलाई कठिन छ । जसका कारण बादल पछि हटेको सहज अनुमान लगाउन सकिन्छ ।

कुनैपनि हालतमा ओलीलाई सत्ताच्यूत गर्ने रणनीतिका साथ लागेको विपक्षी गठवन्धनले पनि यो चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । ओलीलाई कमजोर बनाउन यो निर्वाचनमा ओलीले अघि सारेको उम्मेदवारलाई जसरी पनि हराउने उनीहरुको तयारी छ ।

अहिले ओलीको उम्मेदवारलाई हराउन सके उनको एउटा लौरो भाँचिएजस्तै हुन्छ । त्यसैले हामी एकतावद्ध भएर यो चुनावमा हाम्रो उम्मेदवारलाई जिताउँछौँु, विपक्षी गठवन्धनका एक नेताले भने ।

टिप्पणीहरू