बिरामी बिते,चिकित्सकहरूमाथि हातपात

बिरामी बिते,चिकित्सकहरूमाथि हातपात

कोरोना महामारीको बेला चिकित्सकहरूमाथि दुर्ब्यवहार भएकोमा भेरी अस्पताल विकास समितिले खेद प्रकट गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै उपचारमा खटिएका चिकित्सकहरूको मनोबल बढाउनुको सट्टा त्यसविपरित कार्य गरिएको जनाउँदै हातपातको घोर भर्त्सना गरेको छ ।

आज बिहान साढे ८ बजे ३–४ जना अज्ञात ब्यक्तिले अस्पतालका हेल्थ असिस्टेष्ट पुपेन्द्र शाहीमाथि हातपात गरेपछि अस्पतालले विज्ञप्ति जारी गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल तथा सदस्य सचिव डा. प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा डाक्टरको लापरबाहीबाट संक्रमित बिरामीको ज्यान गएको आरोपमा स्वास्थ्यकर्मीहरूमाथि दुर्ब्यवहार हुँदै आएको बताइएको छ ।

दुर्ब्यवहार रोक्न सम्बन्धित निकायलाई आवश्यक सजगता अपनाएर सुरक्षा ब्यवस्था मिलाइदिन अनुरोध गरिएको छ । इमरजेन्सी विभागमा खटिएका शाहीलाई कोभिड वार्डमा मृत्यु भएको बिरामी हेर्न नआएको भन्दै हातपात गरिएको विज्ञप्तिमा उल्लेख छ । समितिले घटनाप्रति खेद प्रकट गर्दै निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउनुपर्ने बताएको छ ।

टिप्पणीहरू