अक्सिजनको आशमा पिपलको बोट खोज्दै संक्रमित
छिमेकी देश भारत कोरोना महामारीको महाचपेटामा छ । कोरोना संक्रमणको उच्च प्रभावित मुलुकका हिसाबले दोस्रो स्थानमा रहेको भारतमा दैनिक लाखौंको संख्यामा संक्रमित थपिइरहेका छन् । त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि दिनानुदिन बढ्दो छ ।
कोरोना संक्रमण व्यापक भैसक्दा पनि भारतमा हेलचेक्र्याई गर्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने, औषधि उपचार नगराउनेजस्ता प्रवृति मौलाइरहेको छ । बरु कहिले गाईको गोबर दलेर त कहिले गहुँतको स्नान गरेर कोरोना निको पार्न सकिन्छ भन्ने अन्धविश्वास व्याप्त छ । पछिल्लो पटक पिपलको बोटमुनि बास बसे कोरोना निको हुने विश्वास गर्न थालिएको छ ।
उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका कोरोना संक्रमितहरु बढी अक्सिजन पाइने भन्दै पिपलको रुखमुनि बस्न थालेका हुन् । कोरोना पोजेटिभ दुुई परिवारका झन्डै आधा दर्जन संक्रमित पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बस्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्वासप्रश्वासमा समस्या भएपछि पिपलको रुखले धेरै अक्सिजन दिन्छ भन्ने लागेर रुखमुनी बस्न गएको संक्रमितहरुले बताएका छन् । उपचारमा जानुको सट्टा संक्रमितहरु रुखमुनी बस्न थालेपछि स्थानीय अधिकारीहरुले अस्पताल जान निर्देशन दिएपनि उनीहरुले नमानेको सञ्चारमाधमहरुले दाबी गरेका छन् ।
अस्पतालमा गएर पनि अक्सिजन नपाउने अवस्था देखेपछि पिपलको बोट रोजेको उनीहरुले बताएका छन् । ‘हामीलाई पिपलले अधिकतम अक्सिजन दिन्छ भनिएको थियो । किनकि कुनै विकल्प बाँकी थिएन,त्यसैले मैले आफ्नी काकीलाई यहाँ लिएर आएँ र समस्या धेरै ठीक भयो । मानिसहरुले के भन्छन् भनेर हामीलाई मतलब छैन’,संक्रमित परिवारका एक सदस्यले भने ।
टिप्पणीहरू