कर्णालीमा माओवादीका दुई मन्त्रीले छाडे, गण्डकीमा जनमोर्चाका थापा कारवाहीमा
कर्णाली प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएको छ । दुई मन्त्रीले दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रालय फुटाएर आजै तीन नयाँ मन्त्री नियुक्त गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसीको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
नयाँ मन्त्रिमण्डलमा गोपाल शर्मालाई आर्थिक मामिला तथा योजनामन्त्री र बिन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाइएको छ । सीता नेपालीलाई जलस्रोत मन्त्रालयको जिम्मा दिइएको छ ।
यता, पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई कारवाही गरेको छ । नयाँ सरकार गठनमा विपक्षी गठवन्धनलाई सघाउने पार्टीको निर्णयका विरुद्ध उभिएपछि थापालाई दलको नेताबाट हटाएको जनमोर्चाले बताएको छ ।
जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले एक विज्ञप्ति जारी गर्दै थापालाई दलको नेताबाट हटाएको जानकारी दिएका छन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय घर्किन लाग्दा समेत थापाले विपक्षी गठवन्धनमा हस्ताक्षर गर्न नमानेपछि जनमोर्चाले कारवाही गरेको हो ।
जनमोर्चाले थापालाई दलको नेताबाट हटाएको जानकारी संसद सचिवालयलाई गराएको छ ।
टिप्पणीहरू