निषेधाज्ञा उल्लंघन गरी लखरलखर हिँड्ने हजारौं होल्डमा

निषेधाज्ञा उल्लंघन गरी लखरलखर हिँड्ने हजारौं होल्डमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार १ सय ५९ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ ।

उक्त क्रममा ९ सय १३ वटा चार पाँङ्ग्रे र १ हजार ९ सय २ वटा मोटरसाइकल गरी २ हजार ८ सय १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय १९ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।

देशभर माइकिङ तथा सचेतनामूलक कार्यक्रमअन्तर्गत १५ हजार ८ सय ४४ जनालाई सचेत गराइएको छ भने निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिएको बताइएको छ ।

टिप्पणीहरू