भो,अब क्रान्तिका नाममा भ्रान्ती नबेचौँ
-जानुका धमला
सम्झौतापरस्त राजनीतिक संघर्षले अनेक चरणमा हामीलाई पीडित बनाएको छ । संघर्षलाई सुरक्षाको आवरण दिएर तुहाइदिने राजनीतिक प्रपञ्चले पनि हपीडित बनाएकै छ।
जसले ’हामी मर्छौं तर झुक्दैनौं’ भने तिनैले यथास्थिति वा विद्यमान सत्तासामु आत्मसमर्पण गरेर र तिनकै सामु धनुष्टंकार भएर संघर्षमाथि पूर्णबिराम लगाइदिँदा वास्तविक परिवर्तन गौण हुँदै आएको छ । र, सत्ता र संघर्षको बीचमा सत्ता प्रधान हुँदा पटकपटक संघर्षको मोर्चा पराजित छ।
“फेरि नयाँ संघर्ष,फेरि नयाँ मोर्चा’को नारा र कार्यक्रम बालबालिकाले टालाटुली बाटुली खेलेजस्तो भइरहेको छ। यसले वर्ग प्रधान होइन,वर्गीय संघर्ष प्रधान पनि होइन सत्ताप्रधान र सत्तालक्षित दौडलाई मात्र केन्द्रमा राख्यो ।
“हामी चुकेका होइनौं,झुकेका पनि होइनौं’ भन्दाभन्दै अन्ततः वर्गीय मुद्दा ओझेल मात्र परेन नयाँ वर्गउत्थानका राजनीतिक कार्यक्रममै हाम्रा आन्दोलन सती गए।”
कतिसम्म भने नाम र नारामा जोडिएका विचारधारा नै विघटन गर्दै त्यो दौड अघि बढ्यो। र,यसलाई विघटन,विचलन र स्खलन होइन उपलब्धी भन्दै परिवर्तन पक्षधरलाई सफलतापूर्वक गुमराहमा राखियो । “हामी चुकेका होइनौं,झुकेका पनि होइनौं’ भन्दाभन्दै अन्ततः वर्गीय मुद्दा ओझेल मात्र परेन नयाँ वर्गउत्थानका राजनीतिक कार्यक्रममै हाम्रा आन्दोलन सती गए।”
तीन वर्षअघि यही मितिमा हामीले पनि कम्युनिष्ट आन्दोलनमा एकता र एकीकरणका गीत गायौं । त्यो धरातलीय थियो थिएन केलाएनौं तर गीतचाँहि गाइरह्यौं। त्यो विचारको एकीकरण थियो वा थिएन,संघर्षको एकता थियो वा थिएन केलाएनौं तर गीतचाँहि गाइरह्यौं । दर्शनका पसलमा संघर्ष भण्डारण भएर सत्ताको बजार नाफासहित उकालो लाग्दा पछाडि नफर्किकन गीत गाउनेहरू हामी नै हौं।
“हामी त्यागेर म को स्थितिमा रमाइरहँदा पुनः प्रचण्डले हामी भने पनि नयाँ यात्रा र नयाँ बाटो सहज छैन ।”
सत्ता र सडकको सम्बन्धमा यसलाई केलाउँदा अहिले पुनः नयाँ हाँडीमा पुनर्गठनको कमै हालिएको छ। र,नयाँ एकता र नयाँ संघर्षका कर्णप्रिय वीणा बज्न शुरु भएको छ । मूलतः पछिल्लो तीस वर्ष आसपासको माओवादी आन्दोलनलाई केन्द्रमा राखेर उठेको यो विषय राजनीतिक निराशाविरुद्ध आशाको आव्हान हो भन्नेचाँहि कोही छैनन्। अर्थात यो निराशाविरुद्ध नयाँ निराशाकै अर्को कडी भन्नेमा धेरै सहमत छन् ।
मानिसले बुझेरै माओवादी एकताको कुरा गरेका हुन् कि नबुझेर भन्ने उत्तर अझै छैन। यस्ता मानिसहरू एकता नै भैहाले पनि वर्गसंघर्षको नेतृत्व गर्ने क्षमता राख्छन् भन्नेमा अब त विश्वासभन्दा शंका बाक्लो र बलियो भएको छ।
यी पक्षलाई ध्यानमा नलिई फेरि पनि माओवादी आन्दोलन पुनर्गठनको सम्भावना अनेक कारणले दुरुह छ। किन पनि भने माओवादी आन्दोलनको अग्रदस्तालाई,अग्रमोर्चालाई पन्ध्र वर्षसम्म जनताले परीक्षण त गरि नै सके। र,त्यहाँभित्रको नेतृत्व अवसरवादको उत्कर्षमा रहेर आन्दोलनको मर्म र भावनाबाट विचलित भइसकेको छ भन्ने मान्यता स्थापित भइसक्यो ।
यसो भनौं माओवादी आन्दोलन संघर्षबाट पन्छिसकेको परिघटना मात्र हो । प्रचण्डले भन्ने गरेको उपलब्धिको कमजोर धरातल पटकपटकको नयाँनयाँ संघर्षको आवश्यकता सम्भवतः यसैको उदाहरण हो । हामी त्यागेर म को स्थितिमा रमाइरहँदा पुनः प्रचण्डले हामी भने पनि नयाँ यात्रा र नयाँ बाटो सहज छैन ।
मोहन बैद्य किरणको ढिपीले जङ्गल जानुपरेको र मदन भण्डारीलाई भेट्ने अवसर नगुमेको भए सायद जनयुद्ध हुने नै थिएन भन्ने उनले कसरी जनयुद्धको नेतृत्व १० वर्षसम्म गरे र यो उचाईमा जनयुद्ध उठ्यो,यो अनुसन्धानको पाटो बनेको छ भन्छन् प्रचण्डकै रथका सारथी र पांग्राहरू। माओवादलाई आत्मसात नगरेका यी अलगअलग समूहका नेतृत्व बीचमा माओवादी एकता कसरी सम्भव छ भनेर अब धेरैले जीब्रो टोक्ने अवस्था छ। सत्ता र संघर्षबीच यी दुई समूबीच नै जोडिन नसक्ने दूरी तयार भइसकेको छ पछिल्लो दश वर्षमा । त्यसैले यो बिन्दुमा उभिएर आशावादी हुनु ब्यर्थ छ।
“महापतनका वाणीहरुले कुनै कुनामा अझै विप्लवलाई गिज्याइरहेको हुनसक्छ ।”
बाबुराम भट्टराईले म कहिल्यै कम्युनिस्ट थिइन भन्न भ्याइसकेका छन् । मार्क्सवादको अकन्टक ब्याख्या गरिरहँदा उनीभित्र पलाएको बैराग दौड पनि हामीले देखेकै हौं । जनयुद्ध हाँकिरहेको नेतृत्वको साथमै १० वर्षसम्म बस्ने र पटकपटक नेतृत्व हत्याउने प्रयत्न गरिरहेका आरोपबीच उनी पनि नयाँ मुहिमबाट निकै पर छन् । अझ बढी माओवादी आन्दोलनसँग डिभोर्स गरेर फगत जातीय र क्षेत्रीय मुद्दा उठाई सरकारको नेतृत्व कसरी लिने भन्ने च्याँखे दाउमा लीन समूहसँग कसरी अंकमाल गरेर संघर्षको पिरती साटिएला भन्ने प्रश्न उस्तै जबर्जस्त छ । यहाँ पनि एकता गरेर जनताले पाउने के हो र भन्ने शंका बलियो छ।
विप्लवले माओवादी आन्दोलनको बदनाम भैसकेको र ती पदावलीहरू जनताको पृय नबन्ने बुझेर नयाँनयाँ पदावलिसाथ अस्थिर राजनीतिको गोलचक्कर मारिरहेका छन् । माओवादभन्दा परको अर्कै खोजीमा छन् उनी । उनी एकतामा गएपनि नगए पनि माओवादी आन्दोलनमा खासै फरक पर्ने छैन ।
“पन्ध्र वर्षको तुष र क्लेस पाँच दिन वा पाँच महिनामा पखालिएर कसरी होला माओवादी आन्दोलनको पुनर्गठन ?”
महापतनका वाणीहरुले कुनै कुनामा अझै विप्लवलाई गिज्याइरहेको हुनसक्छ । उन्यूको झाडीमा सियाँल तापिरहेको एकीकृत जनक्रान्ति अब फेरि नयाँ रुपमा जाग्ला र हिजो आफैंले घोषणा गरेका गद्दारहरूसँग घाँटी जोडेर संघर्षको उत्सव मनाउला । पन्ध्र वर्षको तुष र क्लेस पाँच दिन वा पाँच महिनामा पखालिएर कसरी होला माओवादी आन्दोलनको पुनर्गठन ?
माओवादी आन्दोलनको विघटन र पतनपछि धेरैले गरेको आशंका के हो भने बलियो र आयमूलक सरकारी जागिर पाएको भए हामीकहाँ यी र ती अनुहारहरूले नेतृत्व भनेर उदाउने कल्पना नगरे हुने रहेछ। हिजोको रक्तपातपूर्ण युद्धमा विजय नै भएको भए पनि त्यसको रक्षा गर्ने क्षमता नेतृत्वबीचमा रहेनछ जुन व्यवहारतः पुष्टि भएको छ । यो बेला माओवादी आन्दोलनको खरानी जति फुके पनि मसान ब्युँझन्छ भनेर लख काट्नु जायज हुन्न ।
एउटा उपलब्धिचाहिँ पक्का प्राप्त हुनेछ,क्रान्तिकारी मोर्चा, सर्वहारा,वर्गसंघर्ष,जनजीविका आदि इत्यादि शब्द थोपरेर खाटो बस्न लागेको जनयुद्धको पाप्रो उप्काई पीडितहरूलाई आहत बनाउन र तिनका शोक र पीडाको व्यापार गर्न नयाँ राजनीतिक घोषणापत्र चैं बन्नेछ।
टिप्पणीहरू