निषेधाज्ञामा बढ्यो सवारी दुर्घटना, ६ जनाको मृत्यु

निषेधाज्ञामा बढ्यो सवारी दुर्घटना, ६ जनाको मृत्यु

देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ । काठमाडौं, कपिलवस्तु,रुकुम (पश्चिम), रौतहट,कञ्चनपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका-११ नेपालटारमा प्र.३-०२-०१६ प ५८६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक रसुवा आमाछोदिङ्ग गाउँपालिका-३ घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै,कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ डुमराका ३५ वर्षीय मानप्रसाद भुषालको मोटरसाइकल दुर्घटनामा परी सोमबार साँझ मृत्यु भएको छ ।

सोही नगरपालिका-९ खैरेनीयास्थित सडकमा भुषालले चलाएको लु.२३ प २७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएपश्चात पुन: लु.३० प २७८ नम्बरको मोटरसाइकलले कुल्चिँदा गम्भीर घाइते भएका भुषालको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उनकै छोरा ८ वर्षीय अरबिन्द भुषालको सोही अस्पतालमा उपचार भइरहेको छ भने हाल फरार लु.३० प २७८ नम्बरको मोटरसाइकल चालकको खोजी भैरहेको प्रहरीले बताएको छ ।

यता, रुकुम (पश्चिम)को बाफिकोट गाउँपालिका-७ दुलिङ खोलामा रा.१ त ३८९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-६ क १६ वर्षीय आशिष केसीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक मुसिकोट नगरपालिका-७ साखका २५ वर्षीय मनबहादुर बिक र बाफिकोट गाउँपालिका-७ का १७ वर्षीय बिजय अधिकारीलाई स्थानीय क्लिनिक हुँदै थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।

उता, रौतहटको चन्द्रपुर नगरपालिका-६ मोथियाही पुलस्थित सडकमा ना.५ त ९२६५ नम्बरको ट्याक्टरमा ना.६४ प १२२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बाल्चनपुरका १८ वर्षीय दिपक चौधरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

त्यसैगरी, कञ्चनपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । भिमदत्त नगरपालिका-१ राजिपुर बस्ने २९ वर्षीय सुमीत मिस्त्रीको मोटरसाइकल दुर्घटनामा परी सोमबार दिउँसो मृत्यु भएको हो ।

सुमीतले चलाएको से.५ प ५५३४ नम्बरको मोटरसाइकल घर नजिकै रहेको पसलबाट फर्किने क्रममा अनियन्त्रित भई पल्टीदा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मोरङमा पनि मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुढीगंगा गाउँपालिका-३ गोकुवा चोकमा प्र.१-०२-०४५ प ६०८७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने ५० वर्षीय बाल कुमार बस्नेतको सोमबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक सुनसरी ईटहरी बस्ने २५ वर्षीय समराज्य चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू