राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध पाँच दलले मोर्चा कसे
राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरेको भन्दै विपक्षी गठवन्धनले राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनीहरुले संयुक्त रुपमा राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षडयन्त्रपूर्वक संसद विघटन गरेकाले त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता उनीहरुले जनाएका छन् ।
विपक्षी गठवन्धनले हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका १४९ जना सांसदसहित सर्वोच्च अदालत जाने तयारी गरेको पनि बताइएको छ । आइतबार या सोमवार संसद पुनर्स्थापनाको मागसहित रिट लिएर सर्वोच्च जाने तयारी भएको गठवन्धनले जनाएको छ ।
पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका बरिष्ठ नेता माधव नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
टिप्पणीहरू