युएईमा ८० जना नेपालीलाई खाद्यान्न राहत वितरण

युएईमा ८० जना नेपालीलाई खाद्यान्न राहत वितरण

एनआरएनए युएईले अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

पछिल्लो दुई महिनादेखि एउटा रिक्रुटमेण्ट कम्पनीले रोजगारी दिन नसकेपछि समस्यामा परेका ८० नेपाली युवाहरुलाई एनआरएनए युएईले कम्तिमा १५ दिनलाई खान पुग्ने चामल, दाल, तेल, प्याजलगायतका खाद्यान्न वितरण गरेको छ ।

एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालका अनुसार उनीहरुलाई नेपाली रुपैयाँ करिब १ लाख ३० हजार बराबरको खाद्यान्न उपलब्ध गराइएको हो ।

१५ महिनाअघि युएई आएका उनीहरू कामविहीन भएपछि सहयोगको याचना गर्दै नेपाली दूतावास पुगेका थिए । लगत्तै एनआरएनए युएईले जेठ ७ गते राहत वितरण गरेको एनआरएनए युएईका केन्द्रीय सदस्य सुमन पराजुलीले बताएका छन् ।

युएईमा रहेका कुनैपनि श्रमिकले कुनै पनि समस्या झेल्नुपरेमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन भोलेन्टियर संयोजक प्रवीण पोखरेलले आग्रह गरेका छन् । विश्वका ८२ भन्दा बढी देशमा संजाल रहेको एनआरएनएको युएई शाखा मजदुरमैत्रीको लागि मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ ।

एनआरएनए युएईले मुख्य शहरमा आफ्नो प्रतिनिधी तोकेर समस्यामा परेका नेपालीलाई सहयोगको व्यवस्थापन गरेको भोलेण्टियर संयोजक पोखरेलले बताएका छन् ।

उनका अनुसार अबुधाबीमा फणिन्द्र ढकाल, दुबईमा मदन अधिकारी, सारजाहमा वीरेन्द्र नकर्मी, अजमानमा राजन खतिवडा, राकमा टिएन शर्मा, फुजेरामा सुजन सापकोटा र अलेनमा राजन अधिकारी रहेका छन् ।

-युएईबाट रामप्रसाद ढुंगेल

टिप्पणीहरू