कर्णेलका बाद्वारा अर्का कर्णेलको भण्डाफोर

कर्णेलका बाद्वारा अर्का कर्णेलको भण्डाफोर

प्रमुख सेनानी बालकृष्ण कार्कीका पिता तथा पूर्व मानार्थ लप्टन ललितबहादुर कार्कीले जनआस्था अनलाइनमा प्रकाशित पाठकपत्रप्रति ध्यानाकर्षण भएको र छोराको प्रगतिप्रति छिमेकी कर्णेलले रिस साँधेको बताउनुभएको छ ।

जेठ १ गते प्रकाशित ‘कर्णेललाई गर्ने जम्मा यति हो कारबाही ?’ शीर्षक चिठीको वास्तविकता अर्कै रहेको भन्दै प्रेस काउन्सिल नेपालमा पेश गरिएको दुई पृष्ठको निवेदनमा छिमेकी कर्णेलसँग बाटोको विषयमा परेको मुध्दा मामिलाको कारण छोरोको चरित्र हत्या गरिएको विवरण खुलाउनुभएको हो ।

निवेदनमा छिमेकी कर्णेलको नाम नखुलाई केही पोलसमेत खुलाइएको छ । उहाँले छिमेकी कर्णेललाई सामाजिक अपराधको मुख्य जिम्मेवार र योजनाकार भन्नुभएको छ । निवेदनमा लेखिएको छ “बहिनी ज्वाईंसँग मिलेर आफ्नै सालीलाई विभिन्न प्रलोभनमा पारी श्रीमानबाट छोडपत्र गराएर सो महिलालाई पटक पटक शारीरिक तथा मानसिक हिंसा दिइरहँदा पछि ती महिलाले प्रहरीमा उजुर दिएपछि पनि शक्तिको आडमा मिलापत्र गराइयो ।’

निवेदनमा ‘ती छिमेकीका कर्णेल भतिजले पश्चिम तराईमा कार्यरत रहँदा स्थानीय महिलालाई यौन हिंसा गरी यातना दिएको र पछि दबाबमा उनै महिलासँग बाध्य भएर बिहे गरेको’ दावीसमेत गरिएको छ ।

छिमेकीको हवाला दिँदै उहाँले ठूलोबुबा नेपाल सरकारका भूतपूर्व कर्मचारी र भतिजो मात्र नेपाली सेनाका कर्णेल रहेको पनि जानकारी दिनुभएको छ । उहाँले ती छिमेकी कर्णेलको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठोकुवा गर्नुभएको छ । सेनालाई नै चुनौती दिँदै भनिएको छ ‘प्रमाणपत्र छानबिन हुने डरले मेरो परिवारमा तथ्यहीन आरोप लगाएका हुन् । ’

जनआस्थामा प्रकाशित सामाग्रीबाट आफूलाई मर्का परेको भन्दै काउन्सिलमा निवेदन हालेका ललितबहादुर कार्कीले त्यसअघि र पछि समेत जनआस्थालाई पत्राचार वा जानकारी भने कहिल्यै गराउनुभएन ।

प्रमुख सेनानी बालकृष्णलाई लागेको अभियोग पुष्टि भएमा सैनिक सेवाबाट हात धुनुपर्ने अवस्था आएपछि पिता ललितबहादुरले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा विभिन्न ठाउँमा पुगेर हारगुहार गर्नुभएको थियो ।

त्यतिबेला उहाँले जे जस्तो कारबाही गरेपनि छोरोको जागिरचाँहि खोसिदिन भएन भनेर गरेको हार गुहारपछि कोर्टमार्शलले बालकृष्णको जागिरसम्म टिकाएको सन्दर्भलाई ललितले जानाजान निवेदनमा लेख्न बिर्सेको देखिन्छ ।

टिप्पणीहरू