मन्त्री र सांसद गिज्याउने काम बन्द गर्न मन्त्रीको आग्रह
कोरोना महामारीको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै मतदाता रिझाएर व्यवस्थाप्रति वितृष्णा जगाउन अनि राष्ट्र र राष्ट्रियता कमजोर हुने प्रचारवाजी नगर्न प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले आव्हान गरेका छन् ।
हिजो अबेर रातीको फेसबुक पोस्टमा कार्कीले भूपू तथा वर्तमान मन्त्री र सांसद, भीआईपी र वरिष्ठ अधिकारीहरुले ‘राज्य कोष / भण्डारबाट स्वास्थ्य सामग्री लैजाने अनि आफ्ना निश्चित क्षेत्रमा मापदण्ड विपरित बाँड्ने काम’ बन्द गर्न अनुरोध गरेका छन् । यसका साथै उनले आफ्नै खर्च वा समाजमा चन्दा उठाएर पनि त्यस्तो काम गर्न नहुने राय दिएका छन् ।
मन्त्री कार्की लेख्छन्,‘राज्यकोष/भण्डार वा संस्था र हामी कोही व्यक्तिबाट गर्ने हो भने पनि राज्यका निश्चित सेवा प्रदायक तहबाटै गर्ने गराउने काम गरौं’ । राज्यले अनुदानमा ल्याएर वितरण गरेको अक्सिजनलगायतका सामग्रीहरु पहुँचका आधारमा मन्त्री,सांसद तथा पहुँचवालाहरुले आ-आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा वितरण गरी फोटो खिच्ने र सामाजिक सञ्जालहरुमा भाइरल हुने गतिविधि बढेपछि मन्त्री आफ्नो फेसबुक अकाउन्टमा यो कुरा लेख्न बाध्य भएका हुन् ।
उनले यस्तो गतिविधिले ‘पहुँचवाला व्यक्ति मात्र लाभान्वित हुने,गलत कामबाट पात्र र प्रवृति प्रोत्साहित हुने निश्कर्ष निकाल्दै मन्त्री कार्कीले आधारभूत तह जहिल्यै कमजोर बन्ने,उपेक्षित हुने,न्याय मर्ने,लोकतान्त्रिक प्रणालीप्रति वितृष्णा’ बढ्ने बताएका छन् ।
उनले लेखेका छन्,–‘पहुँचका आधारमा तपाईं हामीले एक दुई सामग्री लैजाने,बाँड्ने,देखाउने, फोटो खिंच्ने प्रचार गर्ने कामले तपाईं हामीप्रति केही प्राप्ती गर्ने निश्चित व्यक्तिहरुले त खुशी नै मान्लान् तर हामीलाई हेर्ने । देख्ने । दुनियाँले त गिज्याइ उडाइरहेका हुनेछन् ।’
यो सबै कुरा उनले भीआईपी र वरिष्ठ भनाउँदाहरुलाई लक्षित गरी लेखेका हुन् ।
टिप्पणीहरू