उजुरी दिन आउनेमाथि चौकीमै आक्रमण
दुई समूहबीचको विवाद सुल्झाउन बसेको बेला एक हुल हतियारधारी युवाको समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेको छ ।
आक्रमणकारीबाट विवादित पक्षलाई बचाउने क्रममा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज असई सुमन दाहाल र हवल्दार विजय यादव घाइते भएका छन्। घाइते प्रहरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
स्थानीयका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई उजुरी दिन चौकी आएका थिए । त्यसैबेला मास्क लगाएर नचिनिने भएका केही युवा आई उनीहरूमाथि आक्रमण गर्न थाले ।
युवा युवतीलाई जोगाउँदा उक्त समूहले प्रहरीमाथि खुकुरी प्रहार गरेको हो । आक्रमणकारीबाट प्रहरीले उजुरी गर्न आएका दुवैलाई जोगाएको छ । आक्रमणकारी ९ जना जति रहेका छन् ।उनीहरूलाई फोनमा धम्की दिनेहरूले नै आक्रमण गरेको पाईएको छ।
आक्रमणकारीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिनुभएको छ । वडा नं १५ को वडा कार्यालय सामुन्ने रहेको चौकीभित्रै साँझ साढे ७ बजे आक्रमण भएको वडा नं १५ का वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिए। उक्त चौकीमा असईको नेतृत्वमा चार प्रहरी कार्यरत थिए ।
टिप्पणीहरू