मधेशीहरु किन झण्डा हाल्न रोकिए ?

मधेशीहरु किन झण्डा हाल्न रोकिए ?

हिजो शुक्रबारसम्म सरकारमा जान ठिक्क परेको जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समूह किन पछि हट्यो होला ? उनीहरु बजेटअगावै सरकारमा गएर आफ्ना केही आर्थिक मागलाई बजेटमार्फत सम्बोधन गराउने रणनीतिमा थिए ।

तर,त्यो भएको देखिएन । स्रोत भन्छ,‘हाल सर्वोच्चमा विचाराधीन नागरिकतासम्बन्धी अध्यादेशमा अदालतले केही आदेश दिन्छ कि भनेर उनीहरु पछि हटेका हुन् ।’ तर उक्त मुद्दाको अर्को पेशी आगामी २१ गतेलाई तोकिएको छ । मुद्दा तत्काल मुद्दा टुंगिने सम्भावना पनि देखिँदैन ।हिजोसम्म मधेशी नेताहरु सरकारमा सामेल नभएकाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आज अध्यादेशमार्फत् बजेट पनि एक्लै ल्याउने भएको छ । अदालत र सरकारको कामकारबाहीलाई हेर्दा हतारिएर यस्तो लफडामा तत्काल किन दिमाग लगाउने भन्दै उनीहरु पछि हटेको स्रोतको दाबी छ ।

जसपाको ठाकुर–महतो समूह भन्छ ‘बालुवाटारले अस्तिदेखि भनेको कुरा कम सुन्न थालेको छ । मन्त्रालय पनि काम नलाग्ने मात्र दिने प्रस्ताव गरेको छ । त्यसैले हामी चुप अवस्थामा छौं ।’

आफूहरुले यहि मन्त्रालय भनेर नमागेको तर बालुवाटारले सरकारमा राप्रपा पनि आउला भनेर टाँग अड्याउन थालेपछि अघि नबढेको मधेशी नेताहरुको भनाई छ । उनीहरु तुलनात्मक रुपमा बालुवाटारसँग टाढिएर बसेका छन् । दुई चार दिनदेखि खासै सम्पर्कसमेत भएको छैन ।

स्रोत भन्छ ‘उनीहरुले नागरिकता विधेयकको कार्यान्वयनलाई कुरेको हो । अदालतले स्टे गर्यो भने के हुन्छ भन्न सकिन्न । बाहिरबाट समर्थन जारी राख्ने पनि हुनसक्छ । उताबाट जे लाइन आउँछ त्यहिअनुसार गरिरहन्छन् ।’

तर भारतले अस्ति जारी गरेको विज्ञप्तीमा नेपालको मध्यावधि चुनावको स्वागत छैन । उसले नेपालको आन्तरिक मामिला प्रजातान्त्रिक विधिबाट नेपालीले नै सल्टाउँछन् भन्नु ‘ऊ भित्र जेजस्तो भए पनि खुलेर ओलीका कदमको पक्षमा नआउने’ म्यासेज हो भनिन्छ ।

यता प्रधानमन्त्री ओली पनि अब यसै भएन उसै भएन भन्ने सोच र योजनामा अघि बढ्नुभएको देखिन्छ । हिजो अपरान्ह देशवासीलाई सँबोधनको नाममा जारी भाषण सक्रिय राजाले ल्याएको नीति र कार्यक्रमकै एक झल्को रहेको बताइन्छ ।

हिजो प्रधानमन्त्रीले सँबोधन गर्ने क्रममा सक्रिय राजाले झैँ दायाँ र बायाँ दुई वटा राष्ट्रिय झण्डा, पछाडि पृष्ठभूमिमा राष्ट्रिय चिन्ह राखेर टेलिभिजनबाट एक बर्षे कामको रोडम्याप पेश गर्नुभएको थियो ।

टिप्पणीहरू