कोरोनामा मृतक : पोहोरको एक वर्ष,अहिले एक महिना

कोरोनामा मृतक : पोहोरको एक वर्ष,अहिले एक महिना

पहिलो लहरको कोरोना महामारीले एक वर्षको अवधिमा तीन हजार बढिको ज्यान लिएको थियो । तर दोस्रो लहरको पछिल्लो एक महिनाको मृतक तथ्याङ्कलाई हेर्दा पहिलोभन्दा भयानक देखिन्छ ।

पहिलो लहरले एक वर्षमा पुर्याएको मानवीय क्षति दोस्रो लहरले एक महिनामा भेट्टाएको छ । महामारी रोक्न गत बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाको समयमा समेत मृतक संख्या थामिएको छैन । बरु ग्रामीण क्षेत्रमा बढ्दो छ । महामारीको पहिलो वर्ष नेपालमा ३ हजार ८ सय ३६ जनाको ज्यान गएको थियो ।

तर पछिल्लो निषेधाज्ञाको समयमा एकै दिन सर्वाधिक २ सय ४८ जनालेसम्म ज्यान गुमाएको देखिएको छ । निषेधाज्ञा जारीपछि १ लाख १ सय ४४ महिला र १ लाख ३६ हजार २ सय ६८ पुरुष गरी कूल २ लाख ३६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । बैशाख १६ गतेदेखि हिजोसम्म तुलना गर्दा यसबीच एक दिन सर्वाधिक ९ हजार ४ सय ८३ जनामा समेत संक्रमण पुष्टि भएको पाइएको थियो ।

यस्तै,संक्रमणमुक्त हुनेको संख्यामा पनि पछिल्लो समयमा केही उतारचढाव आएको छ । निषेधाज्ञा अवधिमा १ लाख ४५ हजार ३ सय ९१ जना संक्रमणमुक्त भएका छन् । यो हिसाबले यस अवधिमा संक्रमणमुक्त हुनेको तुलनामा संक्रमितको संख्या दोब्बर भएको छ ।

अघिल्लो वर्ष सर्वाधिक एक महिनामा ८७ हजार १ सय ८५ सक्रिय संक्रमित पाइएको थियो । तर,चालु निषेधाज्ञाको एक महिनामा सक्रिय संक्रमितको संख्या १ लाख २० हजार ४ सय ४१ रहेको छ । यी सबै हिसाबले महामारीको पहिलोभन्दा दोस्रो लहर भयानक रहेको जनस्वास्थ्यविद्हरुले स्वीकारेका छन् ।

टिप्पणीहरू