थाई राजपरिवारले एक जहाज स्वास्थ्य सामग्री पठाउँदै
-नरेश केसी
थाइल्यान्डको राजपरिवारले कोरोना महामारीको बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।
राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओईहा,रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले ब्यक्तिगत रुपमा सहयोगस्वरुप एक जहाज सामग्री पठाउन लागेका हुन् ।
थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क,पिपिई गाउन ११ हजार ५ सय २० थान,पिपिइ लेग कभर १० हजार जोडी,पिपिई सर्जिकल क्याप १० हजार थान, फेस सिल्ड ५ हजार पीस,रेपिड एन्टीजन २० हजार युनिट,फीङ्गर टिप्स पल्स अक्सिमिटर ६ सय थान,डिजिटल थर्मोमिटर १५ सय थान,बडी ब्याग १ हजार पीस, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सनट्रेटर ८ थान आउन लागेको हो ।
थाइ राजपरिवारको स्वास्थ्य सहयोग भोलि (आइतबार) थाई राजपरिवारकै खर्चमा जहाजमार्फत काठमाण्डौ पुगिसक्ने भिक्षु सुगन्धले बताउनुभयो । सहयोगको लागि नेपालका राष्ट्रपतिबाट थाई नरेशलाई पत्राचार भएको थियो । उक्त पत्र प्राप्त भएपछि थाई नरेशले खुशीसाथ नेपाललाई सहयोग गर्न आदेश दिएको जानकारी भिक्षु सुगन्धले दिनुभयो ।
थाइल्याण्डका राजपरिवारको अत्यन्तै निकट भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आउन थालेको हो । सानुराजाले भन्नुभयो,“थाई राजपरिवारसँग भिक्षु सुगन्धले पहल गर्नुभयो,यता नेपालमा हामीले कोर्डिनेशन गयौं । हाम्रो अनुरोधलाई भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले सहर्ष स्वीकारी सहयोग गर्न थालेको हो । ”
भिक्षु सुगन्ध बौध्द दर्शनमा विश्वविख्यात महामुकुट बौध्द विश्वविश्वविद्यालय बैंकक, थाइल्याण्डको रेक्टरसमेत हुनुहुन्छ । उहाँले बैंककको कारागारमा आजीवन कारावासको सजायँ भुक्तान गरिरहेका तथा विभिन्न अपराधमा संलग्न भई फाँसीको सजाय सुनाइएकाहरुलाई पनि बाँचुन्जेल केहि गर्नुपर्छ भनेर नयाँ र अनुकरणीय बौध्द दृष्टिकोणमा बाँच्ने कला अभियान चलाउँदै आउनुभएको छ ।
भिक्षु सुगन्ध महास्थविर थाइ बौध्द भिक्षु परम्परामा चौथो बरियताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षु हुनुहुन्छ । थाइल्याण्डमा उहाँलाई डा.अनिल शाक्यका नामले समेत चिनिन्छ । प्राध्यापक शाक्य थाइ राजकीय बिहारबाट बोभर्नका उपप्रमुख समेत हुनुहुन्छ ।
टिप्पणीहरू