विघटन खारेज गर्न अहिले निरन्तर बहस
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनउपर संवैधानिक इजलासमा बहस जारी छ ।
आज सबैभन्दा पहिले १४६ माननीयको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले बहस गर्नुभएको थियो । सो क्रममा उहाँले कम्युनिष्ट पार्टिलाई विभाजित गर्ने फैसलामा संलग्न न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा बस्न नमिल्ने जिकिर गर्नुभएको थियो ।
त्यसैगरी फागुन २३ गते सर्वोच्च अदालतले गरेको नेकपा विभाजनसम्बन्धी मुद्दाउपर माओवादी अध्यक्ष प्रचण्डले हालेको पुनरावलोकनमा बसेकाले अर्का न्यायाधीश तेजबहादुर केसी पनि अलग हुनुपर्ने बन्दीको दाबी थियो ।
त्यसअघि इजलासमा एकछिन बहसको समय कति भन्नेबारे बन्दी र प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाबीच प्रश्नोत्तर भएको थियो । त्यसक्रममा राणाले लामो समय नलिन आग्रह गर्दै बरु बहस नोटमा विस्तृत रुपले बुझाउन सुझाव दिनुभएको थियो ।
अन्त्यमा १ सय ४६ जना रिट निवेदक रहेको रिटमा ८ जनाले बहस गर्ने र १ घण्टामा बहस सक्ने इजलास र कानुन व्यवसायीबीच सहमति भएको थियो । बहस गरिरहनुभएका बन्दीले १ घण्टाको समय मागेपछि राणाले ‘हुन्छ’ भन्नुभयो ।
त्यसपछि पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गर्नुभयो । महादेवपछि पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बहस थाल्नुभएको छ । उहाँहरुलाई पनि प्रधानन्यायाधीश राणाले अघिल्ला मुद्दा र अहिलेको मुद्दाबीचको सम्बन्ध ठ्याक्कै गरी संक्षिप्तमा भन्न आग्रह गर्नुभएको छ ।
टिप्पणीहरू