एमाले युवा संघमा ओली भिजन,होली भिजन

एमाले युवा संघमा ओली भिजन,होली भिजन

युवा संघ नेपालको आइतबार र सोमबार जुम बैठक भयो । संघका ८-९ जना पदाधिकारीको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओली,महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र महेश बस्नेतले भर्चुअल सम्बोधन गर्नुभएको थियो ।

बैठकले किरण पौडेललाई अध्यक्ष बनाएको छ । यसअघिका अध्यक्ष वचन देउजा १६ गतेदेखि ४० वर्ष कटेकाले बिदा गरिएको छ । किरणको पृष्ठभूमिमा अङ्ग्रेजीमा ओली भिजन,होली भिजन लेखिएको ठूलो तस्वीरसहितको नारा पनि देख्न सकिन्छ ।

पौडेल अमृत साइन्स कलेज स्ववियुुमा सहसचिव भई काम गरेका मात्रै होइनन्,महेश बस्नेतका बिश्वासिला पनि हुन् । त्यसैले उनलाई निर्विरोध अध्यक्ष बनाइएको बताइन्छ ।

प्रधानमन्त्रीले सम्बोधनको धेरै समय अदालतमा उपस्थित प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक पक्षका कानुन व्यवसायीको चर्को आलोचनामा खर्चिनुभएको थियो । उहाँले कालोकोट लगाउने वकिलहरुलाई अराजकको संज्ञासमेत दिनुभएको छ ।

अघिल्लो दिन बोल्नुभएका महासचिव पोखरेलले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता तथा कार्यकर्तालाई बोलाएर पार्टीभित्र नछिराउने चेतावनीयुक्त भाषण गर्नुभएको बताइन्छ । उहाँको भाषणको निचोड सुनाउँदै एकजना सहभागीले भने ‘आए आउँछन्, नआए आउँदैनन् । कसैलाई बोलाई बोलाई कुर्सीमा राख्नु छैन ।’

बैठकले पदाधिकारीहरुलाई प्रदेशको इञ्चार्ज र सचिवको जिम्मेवारीसमेत प्रदान गरेको छ । त्यसैगरी अखिल र युवा संघमा दोहोरो जिम्मेवारीमा रहेका,अन्यत्र कमिटीमा रहेका,सरकारी नियुक्ति लिएका र उमेर पुगेका सबैलाई जिम्मेवारीबाट बिदा गरिएको छ ।

पछिल्लो निर्णबाट रिक्त भएको स्थानमा केन्द्रीय समितिबाट पूर्ति गर्ने र केन्द्रीय समितिमा रिक्त ठाउँमा प्रदेशबाट तान्ने निर्णय गरिएको स्रोतले बताएको छ ।

टिप्पणीहरू